काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली सिद्धिएको तर्क गरेका छन्। मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठनको भेलामा सम्बोधन गर्दै ओलीको आलोचना गरे।
‘अब तपाईं सिद्धिनुभयो। मैले भनेको छु- तपाईंले बाजी हारिसक्नुभयो। लडाइँ हारिसक्नुभयो। तपाईं संविधानवादका विरुद्ध गएर, संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध गएर र सार्वभौम नेपाली जनताका विरुद्ध जब तपाईंले तरबार उज्याउनुभयो। तपाईंले लडाइँ हार्नुभयो। जनताले लडाइँ जित्यो। तपाईं इतिहासको कलंकको रुपमा अवतरित हुनुभयो’, प्रचण्डले ओलीलाई भने।
प्रचण्डले आफूलाई लाग्ने गरेको एमालेभित्र खेलेको भन्ने आरोपको पनि प्रतिवाद गरे। ‘मैले पूर्व एमालेमा मैले खेल्यो भन्नुहुन्छ उहाँ। तर पार्टीको नेतृत्व गरिसकेका, प्रधानमन्त्री समेत भइसकेका र देशको राजनीतिमा स्थापित व्यक्तित्वलाई तपाईंले फकाउन नसक्ने र विश्वासमा लिन नसक्ने तर भर्खरै एकता गरेको प्रचण्डले विश्वासमा लिन सक्ने कसरी भयो केपी ओलीजी?’, उनले भने।
‘सचिवालयमा पूर्वएमालेको अत्यधिक बहुमत छ। तर पूर्वएमालेलाई विश्वासमा लिन नसक्ने आफ्नो अनुहार किन ऐनामा हेर्नुहुन्न? स्थायी कमिटीमा पनि स्थिति त्यही हो। तर त्यहाँको दुई तिहाइ बहुमतले बरु प्रचण्ड नै ठीक भन्ने स्थिति बनाएको प्रचण्डले कि केपीले‚’ अध्यक्ष प्रचण्डले प्रश्न गरेका छन्‚ ‘मेरो प्रश्न छ उहाँलाई- केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी सदस्य माधव र प्रचण्डसँग हुने स्थिति प्रचण्डले बनाएको हो कि केपीले? ओलीको निरंकुश प्रवृत्तिका कारण, दम्भ र अहंकारको कारणले यो स्थिति आएको होइन?’
प्रतिक्रिया