काठमाडौं– प्रतिनिधिसभा विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशित नभएको भन्दै संवैधानिक इजलासमा प्रश्न उठेपछि रातारात अपेडट गरेको पाइएको छ ।
राजपत्रमा सूचना प्रकाशित गर्दाको मिति भने पुस ५ गतेकै राखिएको छ । तर राजपत्रमा शुक्रबार विहान ६ बजेर ५१ मिनेटमा मात्र अपडेट गरेको पाइएको छ ।
संसद विघटनविरुद्ध परेका रिटहरुमाथि बिहीबार बहसका क्रममा अधिवक्ताहरुले संसद विघटनसम्बन्धी सूचना अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको विषयमा प्रश्न उठाएका थिए । त्यसपछि सर्वोच्चले सो सूचना सरकारसँग माग गरेको थियो । त्यसपछि रातारात राजपत्रमा सूचना प्रकाशित गरिएको छ ।
शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले त्यही पुरानै मितिमा प्रकाशित राजपत्रको सूचना शुक्रबार संवैधानिक इजलासमा पेश गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि विघटन गरेकी थिइन् । नेपाल सरकारका निर्णय राजपत्रमा सूचना प्रकाशित नभएसम्म कार्यान्वयनमा आएको मानिँदैन ।
प्रतिक्रिया