फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्।
नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो।
वाग्मती प्रदेशको आयोजनामा हुने आमसभामा देशभरबाटै नेताकार्यकर्ता सहभागी हुने ओली समूहले जनाएको छ। ओली समूहले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ। यो एक प्रकारको नेपाल–दाहालको आमसभालाई काउन्टर दिने उद्देश्यले आयोजना गर्न लागिएको हो। तर सो समूहका वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले यो काउन्टर आमसभा नभएको बताए।
‘हाम्रो राजनीतिक उद्देश्य र मूल्यमान्यता जनतालाई जानकारी गराउने हेतुले कार्यक्रम गर्न लागिएको हो। काउन्टर आमसभा होइन’, आमसभा आयोजकसमेत रहेका पोखरेलले भने। उनका अनुसार यस्ता सभाले राजनीतिक उद्देश्य बोकेका कारण यसलाई काउन्टर भन्ने शब्द प्रयोग गर्नु हुँदैन। ‘उहाँहरूसँग हामीले प्रतिस्पर्धा नै गर्नु छैन। उहाँहरू निर्वाचनबाट भाग्दै हुनुहुन्छ भने कसरी काउन्टर हुन्छ? यो त स्वाभाविक आमसभा हो’, पोखरेलले भने।
उनका अनुसार अराजकताको अन्त्य, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा, नेपाली भूमिबाट विदेशी सेना हटाउने अभियान तथा विदेशी सेनामुक्त नेपाल बनाउने अभियानका साथ आमसभा हुन लागेको हो।
प्रतिक्रिया