काभ्रे- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भू–भाग समेटेर चुच्चे नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल सुरु भएको बताएकी छन्।
अखिल नेपाल महिला संघ काभ्रेले बिहीबार बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधिहरु भएको बताएकी हुन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछि केपी ओलीलाई नफाली नहुने गरी खेल सुरु भयो, उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले भनिन्, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभिँदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछि ओलीलाई हटाउन लागेका हुन्।’
प्रधानमन्त्री ओली राजनेता बन्न नदिन विभिन्न आरोप लगाएर सत्ताबाट फाल्ने ढंगले अगाडि बढेको उनको भनाइ थियो। आगामी वैशाखमा हुने निर्वाचन कसैले नसोचेको निर्वाचन हुने भन्दै उनले यो निर्वाचनबाट फेरि पनि ओली नेतृत्वको पार्टीले जित्ने दाबी गरिन्।
‘वैशाखमा निर्वाचन हुन्छ र त्यो निर्वाचन कसैले नसोचेको निर्वाचन हुनेछ। यो निर्वाचनबाट फेरि ओलीले नेतृत्व गरेको पार्टीले नै बहुमत ल्याउछ’, उनले भनिन्, ‘कम्युनिस्ट पार्टी फुट्यो, अब जय नेपाल बाकसभी हुनेछ भनेर कसैले नसोचे हुन्छ। यस निर्वाचन पनि नेकपाले नै बहुमत ल्याउछ।’
वैशाखमा हुने निर्वाचनबाट गणतन्त्र खतरामा पर्ने भनेर केही पक्षले भन्दै आएको भन्दै मन्त्री अर्यालले तर वैशाखको निर्वाचनबाट गणतन्त्रलाई खतरा नभएर प्रचण्ड–नेपाल पक्षको पद धरापमा परेको बताइन्।
अबको जमाना प्रतिस्पर्धा, क्षमताको भएको भन्दै उनले बिना प्रतिस्पर्धा कहीँ पनि पुग्न नसकिने बताइन्। त्यसकारण नेतृत्वमा आउने सबै महिलाहरुले समयअनुसार प्रतिस्पर्धी क्षमताको विकास गर्न समेत उनले आग्रह गरिन्।
प्रतिक्रिया