+
Search

ताजा अपडेट +

पपुलर +

दुई महिनाको सत्ता र सरकारको तुजुक सधैंभर कायम रहँदैन : नारायणकाजी श्रेष्ठ

4KNationalDaily
२०७७ माघ १६, शुक्रबार १६:११ बजे

गोरखा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीले प्रधानमन्त्री पद जान्छ कि भन्ने शंकाको भरमा प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

शुक्रबार नेकपाको सिरानचोक गाउँ कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै श्रेष्ठले ओली प्रधानमन्त्री पदका लागिमात्र लडेको आरोप लगाएका हुन् ।

‘केपी ओली निरंकुशतन्त्र, लोकतन्त्रको निमित्त लडेको होइन रहेछ, आफ्नो प्रधानमन्त्री पदको निमिक्त लड्नुभएको रहेछ भन्ने पुष्टि भयो,’ उनले भने, ‘प्रधानमन्त्री पद गइसकेको पनि थिएन, हटाउँछन् कि भन्ने शंका लागेर संविधान पनि मार्नुभयो, लोकतन्त्रको पनि हत्या गर्नुभयो, जनादेशमाथि पनि मानमर्दन गर्नुभयो, पार्टी एकता पनि भंग गर्नुभयो ।’

ओलीले संविधानको हत्या गरेकाले अदालतमा बहस गर्ने वकिलसमेत नपाएको उनले बताए ।

‘अदालतमा बहस गर्न अहिले कानुनविद् पाएनन्, प्रजातन्त्र चाहिन्छ, गणतन्त्र मास्नुपर्छ भन्ने एक–दुई जना मान्छेलाई अहिले पैसा दिएर बहस गर्न लगाएका छन्, हालत छ यस्तो,’ उनले भने, ‘प्रतिनिधिसभा विघटनको विषयमा अदालतमा बहस गर्ने वकिल राजतन्त्र चाहिन्छ भनेर भन्ने कस्तो लाजमर्दो ।’

केपी ओली पक्षधर नेताले समेत प्रतिनिधिसभा विघटन संवैधानिक हो भन्न हिचकिचाउने गरेको श्रेष्ठले बताए । ‘केही मान्छे सरकारी गुटमा छन्, ती सरकारी गुटले पनि प्रतिनिधिसभा विघटन संवैधानिक हो भन्न सकेका छैनन्, तिनीहरुलाई रातभर निन्द्रा परेको छैन,’ श्रेष्ठले भने ।

दुई महिनाको सत्ता र सरकारको तुजुक सधैंभर कायम नरहने उनले बताए । ‘प्रधानमन्त्रीले चाहँदैमा प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार छैन भन्ने व्याख्या गरेको भिडियोमा बोलेकालाई निन्द्रा लाग्ला, आँखा जुधाएर संवैधानिक छ भन्न सक्लान्,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily