+
Search

ताजा अपडेट +

पपुलर +

रामकुमारीको टिप्पणी : विद्या भण्डारीलाई सेतो साडीमा चुनाव लडाउनु गल्ती थियो

4KNationalDaily
२०७७ माघ १९, सोमबार ०८:४७ बजे

गाेरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पछिल्लो समय विवादमा परिरहेकी छिन्।

विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई खड्ग महाराज भन्दै आएकी उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर टिप्पणी गोरखा पुगेर गरेकी छन्।

शुक्रबार नेकपा सिरानचोक गाउँ कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले राष्ट्रपति भण्डारीको चरित्रमाथि नै प्रश्न उठ्ने गरी टिप्पणी गरेकी छिन्।

बालकोट गए हुन्छ

राष्ट्रपतिलाई बडामहारानीको संज्ञा दिँदै उनले टिप्पणी गर्नै लायक नभएको बताइन्। ‘राष्ट्रपतिका कुरा त के गर्नु र? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे! त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ’, उनले आक्रोशित मुद्रामा भनिन्, ‘नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौँला। बडामहारानीविरुद्ध यहीँकी रेखा लोप्चनलाई चुनाव लडाउँला।’

राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सिफारिसलाई सोच्दै नसोची स्वीकारिदिएको भन्दै उनले आक्रोश पोखिन्। ‘जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शीतल निवासमा बडामहारानीको बास भएको छ। हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस भनेका थियौँ’, उनले थपिन्, ‘नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो। मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरु गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी।’

सेतो साडी प्रवृत्तिले बिगार्यो

नेतृ झाँक्रीले विद्या भण्डारीबाट सुरु गरिएको सेतो साडी लगाएर चुनाव लडाउने प्रवृत्तिले पार्टीलाई ठूलो घाटा भएको दाबी गरेकी छन्। ‘विद्या भण्डारीलाई जस्तै धरानमा पनि मेयरकी श्रीमतीलाई सेतो साडीमै उतार्न खोजिएको थियो’, उनले थपिन्, ‘तर सेतो साडीको अभ्यास त्यहाँ हुन नसक्दा उपनिर्वाचनमा नेकपा पराजित भएर कांग्रेसले जित्यो। मेयरकी श्रीमतीलाई टिकट नदिँदा हार्यो भनियो।’

झाँक्रीले पार्टीमा विचार सिद्धिएपछि कपाल, नाक, लुगा आदिको प्रदर्शन राजनीतिमा हुने गरेको बताइन्। ‘विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ’, उनले भनिन्, ‘विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरुको दैलो चाहर्‍यौँ तर हाम्रा कुरा कसैले पनि सुनेनन्। आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ।’

ओली चुट्किला मात्रै सुनाउँछन्

झाँक्रीले प्रधानमन्त्री ओलीमाथि पनि पटक पटक प्रहार गरिन्। ‘प्रधानमन्त्रीको स्तर हेर्ने हो भने उखान टुक्काले कता लैजान्छ, समाजलाई कता लैजान्छ? भनिरहनै पर्दैन। उहाँ रंगकर्मी मात्रै हो’, उनले भनिन्, ‘राजनीतिमा एक प्रकारको डिरेल गर्ने कोसिस गर्नु हुँदैनथ्यो। उहाँको टोपी हेरेर र चुट्किला सुनेर समर्थन गर्नेहरुको कुनै काम छैन।’

उनले हिजो ओलीलाई लगाम लगाउन नसक्दा अहिलेको संकट आएको बताइन्। ‘हिजो केपी ओलीलाई लगाम लगाउन नसकेकाले समस्या भयो। हिजो राजाका प्रेतात्माहरू केपी ओलीको रक्षामा जुटेका छन्’, उनले थपिन्, ‘हिजोका महामण्डलेहरुले किन साथ दिइरहेका छन्? उनको यो बाटो गलत छ। मतियारहरुले संघीयता विघटन र धर्मनिरपेक्षता हटाउने कुरा गरिरहेका छन्।’

उनले केपी ओलीको चमत्कारले एक्लै दुईतिहाइ ल्याउन सकिन्छ भनिरहेकाप्रति कटाक्ष गरिन्। ‘वडा सदस्य नजितेकाहरु मन्त्री भएका छन्’, उनले थपिन्, ‘२०६४ देखि यताको १३ वर्षमा प्रचण्ड एकदमै नरम छन्। उनले समस्या झिकेकै होइनन्, समस्याको पोको त ओली नै हुन्।’

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily