गोरखा- गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेशमा मन्त्री हेरफेर हुनसक्ने बताएका छन् ।
गोरखा सदरमुकाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्री हेरफेर हुनसक्ने बताएका हुन् ।
‘मन्त्रीहरु थप्ने, घटाउने भन्ने कुराचाहिँ मुख्यमन्त्रीमा निर्भर हुन्छ’, उनले भने ‘उहाँलाई आवश्यक परे थप्न पनि सक्नुहुन्छ, हटाउन पनि सक्नुहुन्छ’
मन्त्री बस्नेतले केन्द्रमा संसद बिघटनको बिषयलाई लिएर प्रदेशहरुमा अबिस्वासको प्रस्ताव भइरहेको भएपनि गण्डकीमा समस्या नरहेको बताए ।
प्रदेशसभाका सांसदको संख्यालाई आधार मान्दा पनि सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने र आए पनि त्यसले कुनै अर्थ नराख्ने बस्नेतले दावी गरे । ६० सदस्यीय प्रदेशसभामा नेकपाको ओली समूहका मात्रै २६ जना सांसद रहेका छन् । विश्वासको मतका लागि सरकारलाई ३१ सांसदको आवश्यकता पर्छ ।
‘गण्डकी प्रदेश सरकारविरुद्ध अंकगणितीय आधारमा अविश्वासको प्रस्ताव आउँदैन र आयो भने पनि त्यसले कुनै अर्थ राख्दैन’, उनले भने, ‘ढुक्क भए हुन्छ, गण्डकी प्रदेशको सरकार अबको दुई बर्ष पृथ्वीसुब्बा गुरुङकै नेतृत्वमा चल्छ । त्यसमा कुनै शंका गर्नु जरुरत छैन ।’
नेकपा (ओली) समुहका केन्द्रिय सदस्य समेत रहेका बस्नेतले पार्टी कार्यकतासँगको भेटघाट र विकास निर्माणका कामको अनुगमनका लागि आफू जिल्लामा रहेको बताए ।
प्रतिक्रिया