काठमाडौं- बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोल गरे। एथ्लेटिकले भने एक गोल उपहार स्वरुप पाएको थियो। खेलको २०औं मिनेटमा फ्रिकिकबाट कप्तान मेस्सीले उत्कृष्ट गोल गरे। मेस्सीको यो करियरको ६५० औं गोल हो।
यही गोलमा बार्सिलोनाले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो। तर, खेलको ४९औं मिनेटमा बार्सिलोनाले आत्मघाति गोल गर्न पुग्यो। डिफेन्डर जोर्डी अल्भाले आफ्नै पोष्टमा आत्मघाति गोल गर्न पुग्दा एथ्लेटिकले १–१ गोलको बराबरी बनायो।
खेलको ७४औं मिनेटमा ग्रिजम्यानले गोल गरेपछि भने बार्सिलोनाले २–१ गोलको जित निकालेको हो। यो जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाको २० खेलबाट ४० अंक भएको छ।
त्यस्तै, तेस्रो स्थानमा झरेको रियल मड्रिडको पनि समान खेलबाट ४० अंक नै छ। २० खेलबाट ३९ अंक बनाएको सेभिया चौंथो स्थानमा रहँदा बार्सिलोनासँग पराजित एथ्लेटिकको भने २० खेलबाट २४ अंक छ।
प्रतिक्रिया