+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्न आयोगलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको सुझाव

4KNationalDaily
२०७७ माघ १९, सोमबार १८:०१ बजे

काठमाडौं- निर्वाचन आयोगलाई नेकपाभित्रको विवाद समाधान नगरी चुनावी प्रक्रिया सुरु नगर्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सुझाव दिएका छन्।

सोमबार आयोगले बैशाखमा घोषणा भएको चुनाव, नेकपाभित्रको आधिकारिकताको विवाद समाधान लगायतका विषयमा छलफल गर्नका लागि पुर्व प्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको थियो।

सरकारले प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गतेका लागि चुनावी तयारी सुरु गर्न आयोगलाई निर्देशन दिएपछि आन्तरिक तयारीमा रहेको आयोगले पूर्व प्रमुख आयुक्तहरु अयोधिप्रसाद यादव, निलकण्ठ उप्रेती, भोजराज पोखरेल र सूर्यप्रसाद श्रेष्ठसँग छलफल गरेको हो। नेकपाभित्रको विवाद समाधान, राजनीतिक दल दर्ताको सूचना प्रकाशनका विषयमा कसरी जाने भनेर छलफल गर्न बोलाएको थियो।

छलफलमा नेकपाको एउटै दलभित्र देखिएको समस्या समाधान नगरी अघि बढ्दा त्यो प्रत्युत्पादक हुने भएकोले त्यसो नगर्न उनीहरुले सुझाव दिएका थिए।

‘निर्वाचन आयोगले आन्तरिक रुपमा निर्वाचनको तयारी गरिरहेको र नेकपाको एउटै दलभित्र विवाद चर्किएको, दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेका बेला कसरी जान सकिन्छ भनेर सुझाव माग गर्नुभयो,’ पूर्वप्रमुख आयुक्त अयोधिप्रसाद यादवले भने।

उनले आफूहरुले नेकपाको विवाद निरुपण नगरी अगाडि बढ्न उपयुक्त नहुने सुझाव दिएको बताए।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि नेकपाको पार्टी विवादलाई सहमतिमा नलिइकन निर्वाचन प्रक्रिया सुरु नगर्दा राम्रो नहुने सुझाव आएको बताए।

‘उहाँहरुले नेकपा पार्टीभित्रको विवादमा सहमति नलिइकन निर्वाचनका कार्यक्रममा ह्वात्तै नजान सुझाव दिनुभयो,’ सुझावबारे थपलियाले नेपालखबरसँग भने, ‘चुनावको कार्यक्रम अघि बढाउन ढिलै भइसक्यो तर दलको विवाद समाधान गर्न बरु उहाँहरुलाई नै जोड दिऊँ र राजनीतिक वातावरण बनाउने काममा जोड गर्नुस् भन्ने उहाँहरुको सुझाव रह्यो।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily