+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डले भनेः केपी ओलीले जित्ने ठाउँ नै छैन, हाम्रो जितलाई कसैले रोक्न सक्दैन

4KNationalDaily
२०७७ माघ २६, सोमबार १५:१२ बजे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिक्रान्तिको वकालत गरेकाले उनले अब जित्ने ठाउँ नै नभएको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीको प्रतिक्रान्तिविरुद्ध एक भएर वैचारिक र राजनीतिक आन्दोलनमा लाग्न शिक्षकहरुलाई आग्रह गरेका हुन्।

उनले एकता प्रक्रिया र महाधिवेशन दुवै नभएर पार्टी विभाजन भएको बताए। पार्टी एकीकरणका कुनै पनि जनवर्गीय संगठनले पूर्णता नपाएको उनले बताए।

‘प्रवृत्तिको लडाइँ अगाडि आउनु थियो, आयो, केपी ओलीले गलत प्रतिक्रान्तिको वकालत गर्नुभयो, उहाँले जित्ने कुनै ठाउँ नै छैन।’

आफूहरु शान्ति समृद्धिको पक्षमा उभिएकोले आफूहरुले पाउने जित कसैले रोक्न नसक्ने उनले बताए। उनले अहिले भइरहेको आन्दोलन र संघर्ष पदप्राप्तिको नभएको समेत बताए।

भिडियाे

https://www.facebook.com/egorkhasandesh/videos/1579135285618932

कार्यक्रममा उनले भने, ‘पार्टी एकता भएर देशमा एउटा नयाँ भरोसा, ऊर्जा, उत्साह पैदा भएको थियो। निर्वाचनमा एउटै घोषणापत्रसहित दुईवटा कम्युनिस्ट पार्टी चुनावमा जाँदा सबैमा नयाँ ऊर्जा, उत्साह पैदा भएको थियो।’

जनतामा समेत एकीकृत कम्युनिस्ट पार्टीले २५/३० वर्ष नेतृत्व गर्छ र विकास समृद्धिको युग सुरु हुन्छ भन्ने भरोसा पैदा भए पनि पार्टी विभाजन भएको उनको भनाइ छ।

‘चुनावको बेला जनताले पार्टी एकताको संकल्पलाई अनुमोदन गरेको थियो’, उनले भने, ‘तर दुर्भाग्य ३ महिनामा सक्ने भनेको पार्टी एकता प्रक्रिया ३ वर्षमा सकिएन, २ वर्षमा गर्ने भनिएको महाधिवेशन भएन। उल्टो पार्टी विभाजन भएको छ। सोच्दै नसोचेको सामना गर्नुपरेको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily