काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकता विवादमा खेलाँची नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएका छन् ।
संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने भन्दै उनले खुट्टा नकमाउन सचेत गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएपछि आयोगले गतिलो लक्षण नदेखाएको भन्दै उनले ३० दिने हदम्याद काइते तर्क मात्र भएको बताए ।
प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड निर्वाचन आयोगका कोही कोही मान्छे.. बढी नभनौ, भन्यो भने फेरि बिग्रिने हो कि भन्दै रोकिएका थिए ।
तर सहभागीहरुको हुटिङपछि उत्साहित भएका उनले ‘७० प्रतिशत हामीसँग छ’ भनेर जाँदा विवाद सुरु भएको १० दिन पनि नभएको बताए । प्रचण्डले भने,‘त्यसलाई हिसाब नगर्ने, केपी ओली गएर धम्क्याउने वित्तिकै त्यसलाई हिसाब गर्नुभयो भने तपाईको खुट्टी देख्छ नेपालले ।’
उनले चेतावनी दिँदै भने, ‘सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने प्रचण्डको चेतावनी छ ।
प्रतिक्रिया