काठमाडौं- नेकपाको प्रचण्ड-नेपाल समूहको विरोध सभामा दोस्रो तहका नेताहरू पनि आक्रामक देखिएका छन् । प्रतिनिधिसभा विघटनपछिको सडक–संघर्षमा ‘फ्रन्टलाइनर’को भूमिकामा रहेका उनीहरूले बुधबार विरोध सभामा छोटो, तर निकै आक्रामक सम्बोधन गरे।
केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूहरूले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहेको बताइन् ।
‘बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ,’ मुखमा लगाएको कालो टेपको क्रस निकालेपछि युवा नेतृ झाँक्रीले विना कुनै सम्बोधन बोल्न सुरु गरिन्, ‘संविधानको चीरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइन्छ ।’
झाँक्री मञ्चमा निकै आक्रामक र प्रतिरोधी शैलीमा उपस्थित भइन् । ‘प्रतिगमन मुर्दावाद’ लेखिएको ज्याकेट फुकाल्दै मञ्चमा पुगेकी उनललाई दर्शकदीर्घाबाट भव्य स्वागत भयो । उनले धाराप्रवाह करिब सात मिनेटभन्दा बढी बोलिन् । सम्बोधनका क्रममा उनले प्रधानमन्त्री ओलीको कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिका र त्यस विषयमा आफूले बोल्दा ओली पक्षबाट भइरहेको आक्रमणको कडा प्रतिवाद गरेकाे खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
प्रतिक्रिया