काठमाडौं- विभाजित नेकपाको ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकमा पुनः अर्को सशस्त्र द्वन्द्व हुनसक्ने अवस्था आउनसक्ने भन्दै तयारीको अवस्थामा रहनुपर्ने बताएका छन् ।
शनिबार जनयुद्ध दिवसमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले उक्त धारणा राखेका हुन् ।
‘हाम्रो निष्कर्ष के छ भने आज हामी सत्तामा छौं, सरकारमा छौं । त्यसकारणले समाजवादी क्रान्ति सम्पन्न गर्नका निम्ति हामीले सशस्त्र स्वरुपहरुको अभ्यास र प्रयोग गर्न आवश्यक छैन । हामीले शान्तिपूर्ण ढंगले समाजवादी क्रान्ति सम्पन्न गर्नसक्ने अवस्था अहिले छ,’ उनले भने, ‘अब हामीले समाजवादी क्रान्ति देशको विकास गरेर, देशको औद्योगिकरण गरेर एउटा आर्थिक क्रान्ति गरेर सम्पन्न गर्न सकिन्छ ।’
अखिल नेपाल ट्रेड युनियन महासंघको ब्यानरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘हामीले समाजवादी क्रान्ति अगाडि बढाउँदै गर्दा प्रतिक्रियावादी वर्गले भोलि गएर सशस्त्र प्रतिरोध गर्न सक्छ हामीले समाजवादी कार्यक्रम लागू गर्नेक्रममा । त्यो अवस्थामा हामीले उनीहरुको एउटा सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्छ ।’
समाजवादी कार्यक्रम लागू गर्नेक्रममा अवरोध आएमा द्वन्द्व हुने र राज्यले सशस्त्र दमन गर्ने उनको तर्क थियो ।
‘त्यसकारण भोलि गएर समाजवादी क्रान्तिको एउटा चरणमा प्रतिक्रियावादी वर्गले सशस्त्र प्रतिरोध गर्यो समाजवादी क्रान्तिलाई रोक्न, त्यसलाई असफल पार्न भने सरकारसँग भएको सेना प्रहरीद्वारा उनीहरुमाथि सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘यो अवस्थामा एउटा चरणमा गएर सशस्त्र द्वन्द्व हुनसक्ने अवस्था आउन सक्छ र त्यसको निम्ति हामीले आफूलाई तयार राख्नुपर्छ । समाजवादी क्रान्तिका लागि हामीले आफूलाई सचेत र सजगरुपमा राख्नुपर्ने आवश्यकता छ ।’
उनले विगतमा जनयुद्धको बेला फरक अवस्था रहेको जिकिर गरे । ‘हिजो हामीलाई त्यो स्थिति थिएन । शान्तिपूर्ण ढंगले हामीले जनवादी क्रान्ति गर्नसक्ने अवस्था थिएन किनकि सत्ता जनताको हातमा थिएन । त्यो (सत्ता) प्रतिगामी वर्गको हातमा थियो,’ उनले भने, ‘त्यसैले सशस्त्र प्रतिरोध गर्नुपर्ने र हतियार उठाउनुपर्ने अवस्था त्यो कारणले पैदा भएको थियो भने आज त्यो स्थिति छैन । श्रमजिवी वर्गले केवल भोलिका सम्भावनालाई ध्यानमा राखेर आफूलाई तयार पार्नुपर्ने स्थितिमा अहिले हामी छौं । हामीले अहिले नै समाजवादी क्रान्तिका लागि हतियार उठाउनुपर्ने अवस्था र आवश्यकता अहिले छैन ।’
प्रतिक्रिया