+
Search

ताजा अपडेट +

पपुलर +

शून्य समयका नियुक्ति सदर कि बदर? यस्तो छ संविधानविद्को तर्क

4KNationalDaily
२०७७ फाल्गुन १३, बिहीबार ०७:५० बजे

काठमाडौं- संसदीय सुनुवाइ छलेर संवैधानिक निकायमा गरिएका नियुक्ति प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै खारेज हुने कानुन व्यवसायीहरूले बताएका छन्।

सर्वोच्च अदालतले ५ पुसदेखि नै प्रतिनिधिसभा जीवित रहेको फैसला सुनाएकाले त्यसयता भएका नियुक्ति स्वतः अवैध हुने उनीहरूको तर्क  रहेकाे खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

सुनुवाइ गर्न संसदीय समितिलाई ४५ दिन म्याद हुन्छ, तर संवैधानिक परिषद्ले पठाएको पत्र पुगेकै दिन ५ पुसमा संसद् विघटन गरिएको थियो । त्यतिवेलादेखि मंगलबार प्रतिनिधिसभा पुनस्र्थापना गरिएको बीचको अवधिलाई सर्वोच्चले ‘शून्य समय’ भनेकाले संसदीय सुनुवाइका लागि अझै ४३ दिन बाँकी छ । सुनुवाइ समितिले अनुमोदन नगरेसम्म अथवा म्याद नगुज्रिएसम्म भएका नियुक्ति स्वतः खारेज हुने संविधानविद्हरूको दाबी छ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै नियुक्तिहरू स्वतः खारेज हुने बताए ।

‘फैसलामा विघटन प्रारम्भदेखि नै कानुनी प्रभाव शून्य हुने गरी बदर हुनेछ भनिएको छ । त्यसैले संसद्ले गर्नुपर्ने काम अब गर्न पाउँछ । कुनै पनि कामको म्याद गुज्रिएको छैन भन्ने हो । संसद् नभएकाले संसदीय सुनुवाइविना भएका नियुक्तिहरूले अब मान्यता पाउँदैनन्,’ उनले भने।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै मंगलबार दिएको फैसलामा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनको निर्णय, विज्ञप्तिसमेतका तत्सम्बन्धी सम्पूर्ण कामकारबाहीहरू असंवैधानिक भएकाले प्रारम्भदेखि नै कानुन प्रभाव शून्य रहने गरी उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । संघीय संसद्को प्रतिनिधिसभा उक्त असंवैधानिक विघटनभन्दा पहिलेको स्थितिमा पुनस्र्थापित भई यथास्थितिमै काम गर्न सक्षम र समर्थन रहेको छ।’

संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले पनि सुनुवाइविना भएका नियुक्ति खारेज हुने सर्वोच्चको फैसलाको आशय भएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily