पोखरा- अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुँदै छ ।
भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा आउने छन् ।
पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्न पुग्ने छन् ।
शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृह जाने कार्यक्रम तय भएको गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका सहइञ्चार्ज किरण गुरुङले जानकारी दिए ।
कार्यकर्ता सम्बोधनपछि प्रधानमन्त्रीले पुनर्निमाण अन्तिम चरणमा पुगेको पोखरा रंगशाला निरीक्षण गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का गण्डकी प्रदेश सदस्य सचिव केशव सिलवालले जानकारी दिए ।
‘त्यहाँ प्रधानमन्त्रीज्युले रंगशालामा भइरहेको पूर्वाधार निर्माण र नवौं राष्ट्रिय खेलकुदको तयारीबारे जानकारी लिनुहुनेछ,’ उनले भने । उनी २ बजे रंगशाला निरीक्षण गर्नेछन् ।
प्रधानमन्त्री ओलीले पोखरा रंगशाला जाने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था र तयारीबारे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओ थानेश्वर गौतम लगायतले निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि पोखरा रंगशाला तयार भइसकेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले ‘बिफ्रिङ’ गरे । उनले भने, ‘पोखरा रंगशालामा सरसफाई सहित स्वागतद्धार निर्माण लगायतका काम सम्पन्न भइसकेको छ ।’
प्रतिक्रिया