काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने बताएका छन्। सोमबार पोखरामा कार्यकर्ताहरुलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि ज्यान मार्नेसम्मको प्रयास भएको संकेत गरेका हुन्।
‘ममाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’, ओलीले भने, ‘तर, त्यस्तो हुन दिइने छैन। म नभएपनि देश अघि बढ्छ। मेरो पार्टी रहन्छ।’
देशको भविष्य र पार्टी तलमाथि पार्न दिन नहुने भन्दै उनले कार्यकर्तालाई प्रतिगामीविरुद्ध नझुक्न आग्रह गरे। यो तीन वर्षमा कति विकास भएको र कति फरक परेको जनताले थाहा पाएको उनको दाबी छ। देश विकासको बाटोमा तीव्र गतिमा अघि बढेकाले आफूमाथि आक्रमण हुन सक्ने उनको भनाइ छ।
‘हामी असाधारण देश विकास गरिरहेका छौं। त्यही कारण देश-विदेशका शक्ति यस पार्टीलाई ध्वस्त पार्न लागेका छन्’ ओलीले भने ‘यो पार्टीको नेतृत्वमा म भएकाले र विकास निर्माणले गति लिएकाले ममाथि प्रहार भएको छ। सम्पूर्ण रुपमा ममाथि तीव्र गतिमा आक्रमण भएको छ।’
योजनाबद्ध ढङ्गले विकास गर्ने प्रयासमा सरकार रहेको उनको दाबी छ। ‘हाम्रो कामको गति र वेग असाधारण छ’, ओलीले भने, ‘पहिले १ वर्षमा १० किलोमिटर सडक बन्थ्यो अहिले एक दिनमा ५/७ किलोमिटर बाटो बनेका छन्। यो कति गुणा हुन्छ तपाईं आफैं सोच्नुस्।’
उनले एउटै जिल्लाको एउटा मात्र निर्वाचन क्षेत्रमा पाँच वटा पुल बनाएको र हिजोमात्र आफूले ३१ वटा पुल उद्घाटन गरेको उनले बताए।
प्रतिक्रिया