काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको बताएका छन्।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सर्वोच्चको फैसलाले राज्य सञ्चालनको दायित्वबाट प्रधानमन्त्री भाग्न नमिल्ने बताएको बताए।
‘सर्वोच्चको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक, नैतिक हिसाबले आफ्नो जिम्मेवारी पन्छिन र भाग्न पाइँदैन, नेपाली जनताको सार्वभौम संसदीय प्रणाली अनुसार निर्वाचित व्यक्तिले सञ्चालन गर्नु जिम्मवारीको विषय हो भनेर पृष्ट ९ मा भनेको छ’, मन्त्री गुरुङले भने, ‘अहिले प्रधानमन्त्री राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाट भएको छ।’
उनले प्रधानमन्त्री ओलीले अहिले तत्काल राजीनामा नगर्ने, संसदको अधिवेशन आह्वान भएका कारण संसद् ‘फेस’ गरेर अगाडि बढ्ने बताए।
‘प्रधानमन्त्रीले तत्काल राजीनामा गर्नुहुन्न। संसदीय प्रणाली र प्रक्रियाबाटै आफ्नै फैसला गर्नुहुन्छ’, उनले भने। उनले नैतिकताका आधारमा राजीनामा माग्नेहरुले आफ्नो घरातलको ख्याल गर्नसमेत आग्रह गरे।
प्रतिक्रिया