गोरखा- आजदेखि गोरखाका ६५ बर्ष उमेरभन्दा माथिका जेष्ठ नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लागाउन सुरु गरिने भएको छ ।
सरकारले तय गरेको दोस्रो चरणको पहिलो अभियान अनुसार आजबाट गोरखामा जेष्ठ नागरिकलाई खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीले जानकारी दिए ।
कार्यालयका अनुसार गोरखामा रहेका एक सय सात खोप केन्द्रमा सात सय ४७ जना स्वयंसेवक खोप लगाउनमा खटिने भएका छन् ।
सरकारले यस अघि ५५ वर्ष उमेर माथिका जेष्ठ नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालकलाई खोप लगाउने निणर्य गरेको थियो । तर, खोपको सीमितता र प्राथमिकताका आधारमा ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई पहिले लगाउने निणर्य गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयको अनुसार दोस्रो चरणको खोप गोरखाका १० वटा पालिकामा ६५ वर्ष उमेर माथिका नागरिकलाई मात्रै लगाईन्छ भने चुमनुब्री गाउँपालिकाका ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई पनि लगाईन्छ ।
गोरखा र पालुङटार नगरपालिकामा, शहीदलखन, गण्डकी, सिरानचोक र अजिरकोट गाउँपालिकामा फागुन २३ देखि २५ सम्म खोप लगाईने कार्यालयले जनाएको छ । यस्तै, भीमसेन थापा, बारपाक सुलिकोट, आरुघाट, धार्चे, चमुनुबी गाउँपालिकामा फागुन २७ देखि २९ सम्म खोप लगाईने छ ।
खोप लगाउनका लागि नागरिकहरुले आफ्नो टोल नजिकको वडामा रहेको स्वास्थ्य संस्थामा उमेर खुल्ने प्रमाण पत्र लिएर जानु पर्नेछ । आईतबारदेखि लगाउन सुरु गरिने खोप शनिवारसम्म सबै केन्द्रहरुमा खोप पुग्ने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया