काठमाडौं-नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ।
महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न भएको निर्वाचनको मतगणना कार्य शनिबार दिउँसो सकिएको हो।
पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनका पोखरेलले विजय हासिल गरेका हुन्। उनी युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) समूहसहित ११ संगठनका साझा उम्मेदवार हुन्।
निर्वाचन आयोगले साँझ ५ बजे विजयीहरुको औपचारिक घोषणा गर्ने जनाएको छ। उनले निकटम् प्रतिस्पर्धी गतिशील, समावेशी र राष्ट्रवादी समूहकी साझा उम्मेदवार प्रेस चौतारी (एमाले ओली पक्ष) की निर्मला शर्मालाई २१ सय भन्दा बढी मतअन्तरले पराजित गरेको केन्द्रीय सदस्यमा विजयी एक पत्रकारले बताए।
त्यस्तै पोखरेल प्यानलकै तर्फबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन्। त्यस्तै उपाध्यक्षमा पोखरेल प्यानलकै बाला अधिकारी र उदय जीएम विजयी भएका छन्।
त्यस्तै महासचिवमा प्रेस सेन्टरका रोशन पुरी विजयी भएका छन्। उनले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरेका हुन्।
त्यस्तै सचिवमा गोविन्द्रप्रसाद निरौला, सिर्जना अर्याल, रायण सुन्दर किलम्बू, दीपेन्द्र चौहान,हेमकर्ण विक, पवन आचार्य विजय भएका छन्। त्यस्तै कोषध्यक्षमा पनि पोखरेल प्यानलकै कलेन्द्र सेजुवाल निर्वाचित भएका छन्।
त्यसैगरी लेखा समितिको संयोजकसहित सबै कन्द्रीय सदस्यहरुमा पनि पोखरेल प्यानल निर्वाचित भएको छ। विजयको घोषणा हुनुअघि नै अहिले विपुल समूहले विजय जुलुस निकाल्न सुरुवात गरिसकेको छ। यो समूहले प्रदेश र जिल्लामा पनि अधिकांश स्थानमा विजय हासिल गरेको छ।
प्रतिक्रिया