+
Search

ताजा अपडेट +

पपुलर +

बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

4KNationalDaily
२०७७ चैत्र २९, आईतवार ०८:५९ बजे

काठमाडौं– स्पानिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ । यस जितपछि एट्लेटिको मड्रिड र बार्सिलोनालाई पछि पार्दै रियल अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा रियलका लागि करिम बेन्जामा र टोनी क्रुसले गोल गरे । बेन्जामाले १३औं र क्रुसले २८औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमै २-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा बार्सिलोनाले एक गोल फर्कायो । ओस्कार मिगुएजाले ६०औं मिनेटमा गोल गर्दै बर्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए तर त्यसपछि थप गोल गर्न नसक्दा रियल विजयी भयो ।

९०औँ मिनेटमा रियलका कासेमिरो दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । जितपछि ३० खेलबाट एट्लेटिको समान ६६ अंक जोडेको रियल हेड टु हेडको आधारमा एट्लेटिकोलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो ।

एक खेल कम खेलेको एट्लेटिको दोस्रोमा छ र शीर्ष स्थान फर्कने अवसर छ । ३० खेलबाट ६५ अंक रहेको बार्सिलोना तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily