+
Search

ताजा अपडेट +

पपुलर +

मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको लगातार दोस्रो अर्धशतक

4KNationalDaily
२०७८ बैशाख ६, सोमबार १६:५२ बजे

काठमाडौं- कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाउँदा नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ । त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो । जितसँगै नेपालले गत वर्ष थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० मा व्यहोरेको हारको बदला पनि लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले मात्र नेपालले १२.१ ओभरमा १ विकेट गुमाएर भेट्टायो । नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले १०२ रनको साझेदारी गरे । त्यसक्रममा कुशलले अर्धशतक बनाए । उनको लगातार दोस्रो अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका थिए ।

आसिफले विरनदिप सिंहको बलमा क्याचआउट हुनुअघि २९ बल खेल्दै ४ चौका र एक छक्का मद्दतमा ४२ रन जोडे । ४१ बलको सामना गरेका कुशल तीन चौका र पाँच छक्कासहित ६१ रनमा अविजित रहे भने दीपेन्द्र सिंह ऐरी ६ रनमा नटआउट रहे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो । मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । २४ बल सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । यस्तै शार्भिन निएन्डीले २० रन जोडे भने शाफिक शारिफले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily