+
Search

ताजा अपडेट +

पपुलर +

खाना खाँदाखाँदै ओलीलाई साथ नदिने भनेर बालुवाटारबाट फर्किए बामदेव

4KNationalDaily
२०७८ बैशाख १०, शुक्रबार १०:०० बजे

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा जारी विवाद समाधानका लागि माधव नेपालपछि वामदेव गौतमसँग गरेको वार्ता पनि असफल भएको छ।

बिहीबार अपराह्न मेरिएट होटलमा वरिष्ठ नेता नेपालसँग दोस्रोपटक गरेको वार्ता पनि निष्कर्षविहीन भएपछि ओलीले त्यही दिन बेलुका उपाध्यक्ष गौतमसँग गरेको ‘डिनर मिटिङ’ पनि बिनासहमति टुंगिएको हो।

माधव नेपालसँग कुरा नमिलेपछि प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास (बालुवाटार) मै नेता गौतमसँग डिनरसहितको वार्ता आयोजना गरेका थिए। वार्तामा कानुनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए।

भेटवार्तामा गौतमले ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भन्दै प्रमुख सचेतक भट्टराईले बिहीबार राति नै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका थिए। तर त्यसको भोलिपल्ट आज शुक्रबार बिहान नेता गौतले ओलीसँग कुरा नमिलेको र डिनर मिटिङ चलिरहेकै बेला आफू बाहिरिएको जानकारी दिएका हुन्।

‘हिजो बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कमरेड केपीसँग डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो,’ आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत गौतमले भनेका छन्, ‘मैले गत फागुन २८ गते तपाईंले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily