काठमाडौं- सरकारले राजधानी काठमाडौं उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एकसाताको लकडाउनमा एक साता थप गरेको एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।
कोभिड-१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने ती मन्त्रीको भनाई छ । बैठकमा नेपाल-भारत सीमालाई बन्द गर्ने छलफल भएको पनि जनाइएको छ ।
मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए। तर, विद्यालयहरु कहिलेदेखि बन्द हुनेछन् भन्ने विषय भने सरकारका प्रवक्ताले आधिकारिक रुपमा सार्वजनिक गर्ने ती मन्त्रीको भनाइ छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सक्रिय संक्रमित २०० पुगेको अवस्थामा पहाडी जिल्ला र ५०० पुगे तराईं–मधेस तथा उपत्यकाका जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने निर्णय समेत गरेको छ।
यस्तै, कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाउने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ। सरकारले आन्तरिक हवाई उडान भने तत्काल बन्द नगर्ने निर्णय गरेको छ।
प्रतिक्रिया