+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेशसभामा छलफल चलिरहेका बेला बैठकबाट बाहिरिए मुख्यमन्त्री गुरुङ

4KNationalDaily
२०७८ बैशाख १५, बुधबार १५:४४ बजे

पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाको बैठक छाडेर हिँडेका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार छलफल चलिरहेको छ । तर, मुख्यमन्त्री गुरुङ भने बैठक चलिरहेका बेला संसद् भवनबाट बाहिरिएका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने कार्यतालिका छ । प्रस्तावमाथि बोल्ने सांसदको संख्या घटाएर आजै मतदान हुनेछ । प्रस्तावमाथि छलफलका क्रममा संसद्‍मा उठेका प्रश्नको मुख्यमन्त्रीले जवाफ दिने पनि कार्यक्रम छ । त्यसपछि आज साँझसम्म मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

हालसम्मको अवस्था हेर्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने देखिन्छ । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा एमालेका २७ र एक स्वतन्त्र सांसद छन् । कांग्रेसका १५, माओवादीका १२ (सभामुखसहित), जनमोर्चाका ३ र जसपाका २ सांसद अविश्वास प्रस्तावकै पक्षमा छन् । यी पार्टीका सांसद संख्या ३१ पुग्ने देखिन्छ ।

सभामुखले भने मत दिन पाउँदैनन् । अविश्वास प्रस्ताव पारित भए कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नेछन् । मुख्यमन्त्री गुरुङविरुद्ध गत १३ वैशाखमा संसदमा कांग्रेस, माओवादी र जसपाका २८ सांसदले अविश्वास प्रस्ताव पेस गरेका थिए ।

मनाङे संसदमा अनुपस्थित, फोन पनि स्वीचअफ

स्वतन्त्र चुनाव जितेका दीपक मनाङे संसदमा उपस्थित भएका छैनन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दलले सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कबाहिर रहेका हुन् । उनी मोबाइल स्वीच अफ गरेर बसेका छन् । आजै मतदान हुने कार्यसूची छ । पहिले फोन गर्दा नउठाएको र पछि अफ गरेर बसेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily