काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले श्रमजीवी बर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उलपलब्धिमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रचण्डले पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवी जनताका अधिकार खोस्न उद्यत रहेको आरोप लगाए।
श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ’ उनले भनेका छन्,‘ पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवी जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धीको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो।’
कोरोना भाइरसको दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न उनले सरकारसँग माग गरेका छन्।
सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगार विहिन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन प्रचण्डले अपिल गरेका छन् ।
श्रमिक दिवसको अवसरमा यस महामारीको संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा उनले अपिल गरेका छन्।
प्रतिक्रिया