+
Search

ताजा अपडेट +

पपुलर +

सदन चलाउन दलका नेताहरुसँग परामर्श लिँदै गण्डकी प्रदेशका सभामुख

4KNationalDaily
२०७८ बैशाख १९, आईतवार १०:१० बजे

पाेखरा– अनिश्चितकालिन समयका लागि रोकिएको गण्डकी प्रदेश सभा सञ्चालनका लागि सभामुख नेत्रनाथ अधिकारीले दलहरुसँग परामर्श सुरु गरेका छन्।

सभामुख अधिकारीले शनिबार कांग्रेस र माओवादीका दलका नेतालाई छुट्टाछुट्टै भेटेर राय लिएका छन्। आइतबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापासँग सभामुख अधिकारीले छलफल गर्दै छन्।

सभामुखसँग संसद रोक्न जनमोर्चाको सांसदले लिखित पत्र बुझाएकाले बैठक स्थगित भएको थियो।

‘कांग्रेसका कारण रोकिएको होइन,’ शनिबार भएको छलफलबारे कांग्रेस सांसद कुमार खड्काले भने, ‘बजेट अधिवेशनको पनि समय आएकाले संसद छिटो टुंगाउने सुझाव दियौं।’

जनमोर्चा र जनता समाजवादीसँग आइतबार छलफल गरेसँगै सभामुखले सत्तारुढ दलसँग छलफल गरी आज नै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने बताइएको छ।

बैशाख १५ मा जनमोर्चाको सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि सदन अनिश्चितकालिन समयका लागि रोकिएको थियो। संसद रोकिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सभामुखसँग क्रुद्ध बनेका छन्। बैशाख २ मा मुख्यमन्त्री गुरुङ विरुद्ध विपक्षी दलका २८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily