+
Search

ताजा अपडेट +

पपुलर +

जसपाका चार मन्त्री : १० दिनमै मन्त्री पद गुम्यो, सांसद पनि रहेनन्

4KNationalDaily
२०७८ बैशाख १९, आईतवार ११:४५ बजे

काठमाडाैं- लुम्बिनी प्रदेशमा मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा)का चारजना नेताको मन्त्री र सांसद दुवै पद गुमेको छ। मुख्यमन्त्री शंकर पोखरेलले आइतबार राजीनामा दिएपछि उनीहरुको मन्त्री पद गुमेको हो।

वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन जसपाका विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका थिए। यादव, पाण्डे र रायमाझीले अविश्वासको प्रस्तावमासमेत हस्ताक्षर गरेका थिए।

चारै जनाको सांसद पद यसअघि नै गुमिसकेको छ। पार्टीको निर्णयअनुसार संसद सचिवालयले सांसद पद खारेज भएको निर्णय गरिसकेको छ। मन्त्री बनेकालाई पार्टी अध्यक्ष उपेन्द्र यादवपक्षले कारबाही गरेको थियो।

त्यसैको आधारमा वैशाख १६ प्रदेश सभाले कारबाहीमा परेका सांसदको नामावली हटाएको छ। प्रदेशसभाले सांसद पदको नामावली हटाएसँगै उनीहरुको मन्त्री पद गुमेको थियो। सांसद पद गुमेपछि पुन: मन्त्रीको शपथ लिनुपर्नेमा उनीहरुले लिएका थिएनन्। त्यसहिसाबले यी चार मन्त्रीले १० दिनमात्र मन्त्रालय सम्हाल्ने अवसर पाए।

अर्कोतर्फ, पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले उनीहरुलाई थमौती गरेका छन्। तर, सांसदबाट पदमुक्त भएको औपचारिक निर्णय भएपछि ठाकुरको पत्रको औचित्य सकिएको छ। सांसदबाट मुक्त भएका चारजना अदालत गुहार्न पुगेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily