काठमाडौं– लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा सञ्चार क्षेत्रको प्रशंसनीय भूमिका रहेको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा भएका संघर्षमा आफ्नो जीवन अर्पण गरेका सञ्चारकर्मीप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।
‘संविधान सभामार्फत् जनताका प्रतिनिधिहरुद्वारा निर्मित संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेपश्चात हामी यसको व्यवहारिक अभ्यासका क्रममा छौं,’ उनको सन्देशमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्तवपूर्ण र मजबुत पक्ष हो, नेपालमा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ।’
कतिपय अवस्थामा प्रेस स्वतन्त्रतामाथि समस्या पैदा भएको उनले बताएका छन्। सामूहिक पहल र प्रयत्नबाट यस्ता समस्या निराकरण भएको उल्लेख गर्दै सभामुख सोपकोटाले संघीय संसद प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको पक्षमा रहेको बताएका छन्।
‘प्राप्त अधिकारहरुको उपयोगका लागि सञ्चार जगत सधैंजस्तै निर्भीकतापूर्वक लागिरहने छ भन्ने विश्वास लिएको छु,’ सापकोटाले भनेका छन्, ‘कतिपय अवस्थामा प्रेस स्वतन्त्रतामाथि समस्या पैदा भएपनि सामूहिक पहल र प्रयत्नबाट त्यस्ता समस्यालाई निराकरण गरिएको छ, संघीय संसद प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधैं सँगै रहेको विश्वास दिलाउन चाहन्छु।’
यसैगरी उनले कोभिड–१९ को दोस्रो लहरसँग जुधिरहेका बेला अग्रपंक्तिमा रहेर काम गर्ने दर्जनौं सञ्चारकर्मीहरुमा कोभिड संक्रमण भएको यसबाट सञ्चारकर्मीहरुको निधनसमेत भएको खबरले आफू दुःखी रहेको बताएका छन्।
प्रतिक्रिया