+
Search

ताजा अपडेट +

पपुलर +

वैशाख २७ अघि नै सांसदबाट सामूहिक राजीनामा दिने तयारीमा माधव नेपाल समूह

4KNationalDaily
२०७८ बैशाख २१, मंगलवार २१:१५ बजे

काठमाडाैं- माधव नेपाल समूहका कम्तीमा २० जना सांसदले सामूहिक राजीनामा दिनेबारे सोमबारदेखि सघन छलफल शुरू भएको छ । त्यो विकल्पमा जानुअघि ओलीसँग निर्णायक संवाद हुने बताइन्छ ।

आफूहरूले विश्वासको मत दिए ओली सरकार जोगिने र नदिए पनि जसपाको एउटा पक्षको साथ पाएर ओलीले नै चुनाव गराउने परिस्थिति देखिएपछि माधव पक्षले तेस्रो विकल्पमाथि छलफल थालेको हो । त्यसो भयो भने वैशाख २७ अघि नै एमाले विभाजनको प्रक्रिया टुंगिनेछ । नेपाल पक्षका सांसदले राजीनामा दिएपछि प्रतिनिधिसभामा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र-बाबुराम पक्षको बहुमत पुग्छ ।

हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसदको बहुमतका लागि १३४ चाहिन्छ । कांग्रेसको ६१, माओवादीको छक्कवहादुर लामासहित ५० र उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको एक भोट पनि विपक्षी गठबन्धनमा जानेछ ।

त्यति हुँदा पनि १२९ सिटमात्र हुन्छ । ओलीविरुद्ध अविश्वास प्रस्ताव आएको भए माधव पक्षले फ्लोर क्रस गरेर मत दिँदा सरकार ढल्थ्यो । माधव पक्षका सांसदहरूमाथि त्यसपछिमात्र कारवाही हुँदा कम्तीमा ओलीको साटो देउवाको नेतृत्वको सरकारले चुनाव गराउँथ्यो । अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेता बताउँछन् ।

राजीनामा दिँदा प्रत्यक्ष निर्वाचित सांसदहरूले दिनेछन् । समानुपातिकले दिए पनि उनीहरूको ठाउँमा बन्दसूचीबाट अरु निर्वाचित गराउने प्रक्रिया शुरू हुने भएकाले प्रत्यक्ष निर्वाचित २१ जनाले राजीनामा दिने गरी छलफल भएको बताइएको छ ।

यदि २१ जनाले राजीनामा दिए भने एमालेको प्रतिनिधिसभामा १०० सिट हुनेछ । २१ जनाले राजीनामा दिएपछि प्रतिनिधिसभाको संख्या २४६ हुन्छ । त्यसको सामान्य बहुमत भनेको १२४ हो ।

कांग्रेस, माओवादीको ११० हुने भएकाले जसपाको उपेन्द्र बाबुराम पक्षले १४ जनामात्र सांसद आफ्नो पक्षमा राख्न सक्दा पनि बहुमत पुग्ने हिसाब गरेरै राजीनामाको चर्चा चलेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily