+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, भने : स्थिरता नचाहनेहरुको चलखेलले काम गर्ने वातावरण भएन

4KNationalDaily
२०७८ बैशाख २६, आईतवार १९:४० बजे

काठमाडाैं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। उनले आइतबार प्रदेश प्रमुख सीता पौडेल समक्ष राजीनामा दिएका हुन्।

उनको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालद्वारा विज्ञप्तिमा भनिएको छ। गुरुङको राजीनामा स्वीकृत समेत भइसकेको छ।

सोमबार मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा मतदान हुँदैथियो।

प्रदेश प्रमुख पाैडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ (तीन) दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी छन्।

मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव आउने सम्भावना देख्नासाथ संसदको अधिवेशन अन्त्य गरेका थिए । तर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा नेपालका सांसदहरुले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै प्रदेशसभाको विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका थिए ।

विशेष अधिवेशनको पहिलो दिन अविश्वास प्रस्ताव पेश हुनका साथै सांसदहरुले छलफलमा भाग लिए पनि दोस्रो दिन सत्तारुढ नेकपा एमालेकै सांसदले प्रदेश सभा बैठक अवरुद्ध गरे । उनीहरुले सांसदहरुको पीसीआर परीक्षणको माग गर्दै बैठक चल्न दिएनन् ।

उल्लेखनीय छ, प्रदेश सरकारले विशेष अधिवेशन आव्हानको सूचना जारी भएको एक साताभन्दा लामो समयसम्म सांसदहरुको पीसीआर परीक्षणमा चासो देखाएको थिएन ।

अन्ततः प्रदेशसभाको विशेष अधिवेशनको बाँकी कार्यसूची पूरा गर्नका लागि प्रदेशसभा सचिवालयले बैठकको मिति तोकि आवश्यक तयारी गरिसकेको अवस्थामा आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिए ।

६१ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनले आफूसँग ३१ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily