+
Search

ताजा अपडेट +

पपुलर +

ओलीले विश्वासको मत नपाउने स्पष्ट, नयाँ गठबन्धन भने अझै अस्पष्ट

4KNationalDaily
२०७८ बैशाख २७, सोमबार ०८:०४ बजे

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले अपेक्षा गरेअनुसार संसद्को विश्वासको मत पाउने सम्भावना क्षीण भएको छ । तर, नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना भने अनिश्चित नै छ ।

प्रधानमन्त्रीमाथि संसद्को विश्वास छ कि छैन भनेर स्पष्ट गर्न सोमबार अपराह्न १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर, आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकेका ओलीलाई प्रतिपक्षी जसपाले मत नदिने स्पष्ट भएको छ ।

कांग्रेस र माओवादीले भने उनको विपक्षमा मतदान गर्ने स्पष्ट गरिसकेका छन् । एमालेका कति सांसदले ओलीलाई मत दिन्छन्, स्पष्ट छैन । तर, सबै एक सय २१ सांसदले मत दिए पनि ओली सरकारले विश्वासको मत साबित गर्न सक्नेछैन । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेदिपेश शाहीले लेखेका छन्।

एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले २ जेठ ०७५ को अवस्थामा पार्टीलाई फर्काउने प्रतिबद्धता जनाएको अवस्थामा मात्र विश्वासको मत दिने निर्णय गरेको छ । खनाल–नेपाल समूहले ओलीका तर्फबाट त्यस्तो प्रतिबद्धता सोमबार बिहान ९ बजेसम्म नआए सामूहिक राजीनामाको कठोर निर्णय गर्ने अल्टिमेटम दिएको छ । एमाले विवादको छिनोफानो सोमबार मध्याह्नसम्ममा हुनेछ ।

आइतबार साँझ संसद्को लेखा समितिको कार्यालय सिंहदरबारमा बसेको खनाल–नेपाल समूहको बैठकले ओलीका तर्फबाट पार्टीलाई सहमतिका आधारमा अगाडि बढाउने प्रतिबद्धता आउनुपर्ने निष्कर्ष पनि निकालेको थियो ।

‘सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ ०७५ मा फर्कने र आगामी दिनमा पार्टीलाई सहमतिको आधारमा अगाडि बढाउने प्रतिबद्धता खोजेका छौँ, यदि उहाँले त्यो प्रतिबद्धता जनाउनुभयो भने हामी प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन्छौँ र विश्वासको मतको पक्षमा मतदान गर्छौँ,’ बैठकपछि सचिव योगेश भट्टराईले भने, ‘त्यो स्थिति भएन, एउटा समूहलाई किनारा लगाउने, पेल्ने, धकेल्ने, कारबाही गर्ने, हतोत्साही गर्ने, डर, धाक, धम्की दिने, सत्ताको दुरुपयोग गर्नेजस्ता क्रियाकलाप निरन्तर भए भने सोमबार बिहान जे निर्णय गर्नुपर्ने हो, त्यो गर्छौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily