पाेखरा– गण्डकी प्रदेशमा विपक्षी दलले बहुमतसहित आज प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने भएका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका बहुमत सांसदले हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी गर्ने भएका हुन्।
प्रदेश प्रमुख सीता पौडेलले सरकार बनाउन आह्वान गरेको दोस्राे दिन विपक्षी दलका ३१ सांसदले हस्ताक्षर बुझाउन लागेका हुन।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिएको राजीनामा आइतबार नै स्वीकृत गरी प्रदेश प्रमुख पौडेलले सरकार बनाउन तीन दिनको समय उपलब्ध गराइएकी थिइन्।
मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरी हस्ताक्षर बुझाउन लागिएको हो। ३१ जना सांसद सहित मुख्यमन्त्री दाबी गर्ने निर्णय गर्न तीन दलको बैठक बसिरहेको कांग्रेस सांसद विन्दु कुमार थापाले जानकारी दिए।
कांग्रेस, माओवादी केन्द्र र जसपा सांसदहरुको बैठकमा जनमोर्चा भने सहभागी छैन। जनमोर्चाका सांसदको छुट्टै बैठक बसेको बताइएको छ।
वैकल्पिक सरकार निर्माणमा जनमोर्चाको साथ रहने थापाले बताए। सरकारमा सहभागी नहुने गरी गठबन्धनको सरकारलाई जनमोर्चाले साथ दिने उनले बताए।
गण्डकी प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ ( सभामुख सहित), जनमोर्चाका ३ जसपाका २ सांसद छन्। बहुमतको सरकारका लागि ३१ मत आवश्यक पर्दछ।
प्रतिक्रिया