काठमाडौं- मंगलबार मध्यराति १२ बजे, रुपन्देही जिल्ला प्रशासन कार्यालयको गेट । छटपटाउँदै, यताउता गर्दै थिए युनिभर्सल मेडिकल कलेजका कर्मचारी।
‘अस्पतालमा दुई सय २० जना बिरामी छन्, अब उनीहरूलाई दुई घन्टालाई मात्र पुग्ने अक्सिजन छ । चितवन प्रशासनले अक्सिजनको गाडी रोकिदिएको छ, पहल गरेर खुलाइदिन आग्रह गर्न आएका हौँ, तर तीन घन्टा भयो, गेट खुलेको छैन, हामीले सिडिओ साबलाई केही भन्न पनि पाएनौँ,’ उनीहरू भन्दै थिए।
सरकारले पर्याप्त मात्र अक्सिजन उपलब्ध गराउन नसकेको भन्दै सो अस्पतालले आइतबार नै विज्ञप्ति निकालेर नयाँ बिरामी भर्ना बन्द गरेको थियो । तर, अस्पतालमा भएका बिरामीको जीवन नै जोखिममा परेपछि राति नै भए पनि सिडिओसँग गुहार माग्न आएको उनीहरूले बताए ।
‘रुपन्देही प्रशासनले कोटा तोकिदिएको छ, त्यही पनि आपूर्ति छैन । त्यसैले हामीले गाडी चितवन पठाएका थियौँ । तर, त्यहाँका सिडिओले बाहिर जिल्ला दिन मिल्दैन भनेर गाडी रोकिदिनुभयो । त्यसैले हाम्रा सिडिओलाई गुहार माग्न आएका हौँ,’ अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले भनेकाे खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
प्रतिक्रिया