काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानअनुसार तुरुन्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिनुपर्ने दाबी गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिँदै तथा राजीनामा नदिँदै राष्ट्रपतिले हताहतार संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु संवैधानिक रूपमा त्रुटिपूर्ण र राजनीतिक रूपमा दुराशयपूर्ण भए तापनि त्यसविरुद्ध आफूहरूले हाल्न खोजेको रिट सर्वाेच्च अदालतले दर्तै नगरेका कारण आफूहरूले बहुमत जुटाई प्रधानमन्त्रीमा दाबी गर्न देउवालाई अघि सारेको प्रवक्ता श्रेष्ठले उल्लेख गरेका छन्।
१४९ सांसदको हस्ताक्षरसहित प्रस्तुत भएका देउवालाई राष्ट्रपतिले तुरुन्त प्रधानमन्त्रीमा नियुक्ति गर्नुको विकल्प नभएको उनको दाबी छ।
यस्तो छ, उनको वक्तव्य
‘प्रधानमन्त्रीको निर्णयअनुसार राष्ट्रपतिद्वारा आज अपराह्न ५ बजेसम्मको समय दिई संविधानको धारा ७६ ९५० अनुसार सरकार बनाउन दाबी गर्ने आह्वान संवैधानिक रूपमा त्रुटिपूर्ण र राजनीतिक रूपमा दुराशयपूर्ण नै छ। तथापि हाम्रो आजको व्यवस्थामा अदालतको निर्णय सहमत/असहमत जे भए पनि लागू गर्ने रहेको र सर्वाेच्च अदालतले आज ५ बजेभित्र अन्तरिम आदेश दिनुपर्ने यस विषयमा परेको रिटमा ३ बजेसम्म रिट दर्ता नै नगरेको स्थितिका कारण नेका, हाम्रो पार्टी, राष्ट्रिय जनमोर्चाको संस्थागत पार्टी निर्णयसहित जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादवसहित र नेकपा (एमाले) का झलनाथ खनाल, माधव नेपालसहितका बहुमत प्रतिनिधि सभा सदस्यहरू (१४९) को हस्ताक्षरको समर्थनले नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरिएको छ। राष्ट्रपतिले संवैधानिक रूपमा तुरुन्त शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको विकल्प छैन।’
प्रतिक्रिया