काठमाडौं- कोरोना संक्रमित संख्या बढिरहेकै बेला अन्य बिरामीसमेत मारमा परेका छन्। मुख्यतः दीर्घरोगी र नियमित औषधि सेवन गर्ने बिरामी मर्कामा परेका छन् । यो अवस्थामा अधिकांश कोभिड अस्पतालका रूपमा रूपान्तरण गरिएको छ।
खासगरी मिर्गौला, मुटुरोग, क्यान्सर, हाडजोर्नी, नसालगायत दीर्घ रोगका बिरामी कोरोना महामारीबीच बढी प्रताडित भएका खबर आजको राजधानी दैनिकले छापेको छ।
यद्यपि, स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताल ‘कोभिड अस्पताल’ बनाउने निर्णय गरेको छ। निषेधाज्ञाका कारण दीर्घरोगीलाई आवतजावतमा समस्या हुँदै आएको छ । काठमाडौंका विभिन्न अस्पताललगायत देशबाहिर गएर उपचार गराइरहेका बिरामीले प्रत्यक्ष चिकित्सक भेटेर ‘फलोअप’ गर्न पाएका छैनन्।
‘मेरो छाती एकदमै दुख्छ, एकपटक काठमाडौं गएर चेकजाँच गरौं भनेको सार्वजनिक गाडी पनि चल्दैनन्,’ कपिलवस्तु चन्द्रौटाका श्याम त्रिपाठीले आइतबार फोन सम्पर्कमा सुनाए, ‘एम्बुलेन्समा जाऊँ भने महँगो पर्छ । फेरि काठमाडौं आएपछि उपचार नपाइने हो कि भन्ने चिन्ता पनि छ।’
केही सरकारी अस्पतालले मिर्गौलापीडितलाई डायलासिस र थप उपचारका लागि समेत ‘बेड नभएको’ भन्दै फर्काउने गरेको पाइएको छ । मुटु, मिर्गौला तथा क्यान्सरका बिरामीसमेत प्रत्यक्ष मारमा परेका छन्।
सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन छुट्टै ‘ननकोभिड’ अस्पताल व्यवस्था गरिए सहज हुने बताउँछन् । ‘कोभिड अस्पतालमा कोरोना संक्रमण नभएका जानै डराउँछन्,’ उनी भन्छन्, ‘मुख्यतः गर्भवती, दीर्घरोगी, आकस्मिक शल्यक्रियाका बिरामी पनि हुन्छन् । कोरोना संक्रमण नभएकाको बिरामी उपचार गराउने सरकारी अस्पतालको सूची सार्वजनिक गरे सहज हुनेछ।’
स्वास्थ्य मन्त्रालयका अनुसार ‘ननकोभिड’मध्ये प्रायः खोप लगाउनुपर्ने बालबालिका, गर्भवती, क्यान्सरका बिरामी अस्पताल आउनुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम भने ‘ननकोभिड’ उपचार सेवा प्रभावित नभएको दाबी गर्छन्।
प्रतिक्रिया