काठमाडौं- नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।
बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार माधव नेपाल पक्षका ११ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो। माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, कालिला खान र नीरादेवी जैरुलाई स्पष्टीकरण सोधिएको हो। उनीहरुलाई सोमबार बिहानसम्मको समय दिइएको थियो।
उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको, राष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई हराउन भूमिका खेलेको, फ्लोर क्रस गरेको लगायतका विषयसँग जोड्दै स्पष्टीकरण सोधिएको थियो।
कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए।
प्रतिक्रिया