+
Search

ताजा अपडेट +

पपुलर +

देश, जनता र संविधानलाई केन्द्रमा राखेर असाधारण निर्णय गर्नसक्छु : सभामुख सापकोटा

4KNationalDaily
२०७८ जेष्ठ १३, बिहीबार १८:४२ बजे

काठमाडौं- सभामुख अग्नी सापकोटाले जनप्रतिनिधि संस्था संसदलाई अवमूल्यन गर्ने कुरा कदापि स्वीकार्य नहुने बताएका छन्। संविधानविद् र कानूनव्यवसायीहरुसँगको छलफलमा सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख सबै बनाउने संस्था संसद् भएकोले संसदलाई अवमूल्यन गर्ने कुरा कदापि स्वीकार्य नहुने बताएका हुन्।

प्राथमिकताका आधारमा कसरी अघि जाने भन्ने विषय तय गर्ने र आफ्नो ठाउँबाट गर्न सक्ने र मिल्ने काम अघि बढाउने उनले बताए। सभामुखले प्रतिनिधिसभा पुनः स्थापित गर्न असाधारण कदम चाल्ने चेतावनी पनि दिए। संविधान, लोकतन्त्र र जनताको हितका लागि असाधारण कदम चाल्न पनि आफू तयार रहेको उनको भनाई छ।

उनले भने, ‘संविधान, लोकतन्त्र, जनताको अधिकारका लागि असाधारण कदम चाल्न पनि तयार छु। घण्टा घण्टाका सबै परिस्थितिलाई मूल्यांकन गरेर अघि बढ्न सक्छु। केन्द्रमा देश र जनताको हित नै हुन्छ। संविधानको मर्म र भावना अनुसार काम गर्न तयार छु।’ तर त्यो असाधारण कदम के हो भन्नेबारे चाहिँ उनले खुलाएनन्।

केही कानुनविद्हरूले सभामुखलाई संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न सुझावका छन्। तर धेरै जसो कानुनका जानकारहरूले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान उल्लंघन गरे भन्दैमा सभामुख पनि त्यहीँ बाटोमा नजान ध्यानाकर्षण गएका छन्।

संसद् विघटनपछि सभामुख सापकोटाले विभिन्न क्षेत्रका व्यक्तिसँग परामर्श गरिरहेका छन्। मङ्गलवार पूर्वसभामुखहरुसँग कुराकानी गरेका थिए। उनले अबको क्रममा राजनीतिक दलहरूसँग छलफल गर्ने र उनीहरूको सुझावअनुसार अघि बढ्ने जानकारी दिए। ‘म पार्टीहरूसँग छलफल गर्छु, उनीहरू लोकतन्त्रका संवाहक हुन्। यसपछि उहाँहरूसँग म विचार विमर्श गर्छु,’ सापकोटाले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily