पोखरा- गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले विपक्षीहरुसँग प्रधानमन्त्री केपी ओलीजस्तो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग नडराउन आग्रह गरेका छन्।
जेठ २९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यतामा रहेका मुख्यमन्त्रीले सदन विघटनको खेल खेल्ने त हैनन् भन्ने विपक्षीहरुले आशंका गरिरहँदा उनले सरकारले तोकिएको समयभित्र विश्वासको मत लिने जिकिर पनि गरे।
गण्डकी प्रदेश सभाको ८ औं अधिवेशनको आइतबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री गुरुङको वारिस बनेका उनले भने, ‘केपी ओलीसँग डराएर जुन स्थिति उत्पन्न भएको छ, पृथ्वीसुब्बासँग त्यसरी डराउन पर्दैन। हामीलाई पनि थाहा छ, यो अल्पमतको सरकार हो, यो सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ, हामी स्पष्टताकासाथ जेठ २७ गतेभित्र विश्वासको मत लिन्छौँ।’
उनले विपक्षीले भन्दैमा बजेट ल्याउने काम नरोकिने जानकारी पनि गराए। उनले असार १ गते बजेट ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले सकारले १५ दिनअघि नै अधिवेशन बोलाएको बताउँदै विपक्षीले भनेकै दिन विश्वासको मत नलिने पनि बताए।
‘हामीले ३० दिन अगाडि विश्वासको मत लिनुपर्छ थाहा छ तर यो दिन फलानाले भनेर लिनुपर्ने कारण छ र? यो सरकारले बजेट ल्याउन पाउने कि नपाउने भन्नेमा, हामीले कानून र नियमावलीमा लेखेका छैनौं र?’, उनले भने,‘ सहमतिका साथ बजेट बनाऔं, विश्वासको मत दिए हामी बस्छौँ, अर्को सरकार बन्ने अवस्था रैछ भने नियम अनुसार अगाडि बढ्छ।’
विपक्षीहरुले प्रदेश सभा बाँच्छ कि बाँच्दैन भन्ने प्रश्न गरिरहँदा उनले मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्न तयार हुँदा कसरी भागेको हुन्छ भन्ने प्रतिप्रश्न गरे।
‘सदनले बाँकी कार्यकाल पूरा गर्ने हो भने एमाले तयार छ। हामीले विधिको कुरा गरिएका छौँ, नढाँटी भनौँ न, मुख्यमन्त्रीले मार्ग प्रसस्त गर्दिनुभएको हैन, तपाईंहरुले सरकार बनाउनुहोस् भनेर छाडेको हैन र?’,उनले भने, ‘यो वा त्यो मान्छेलाई आरोप लगाएर फाइदा के हुन्छ आखिर?’
विपक्षीले पेश गरेको अविश्वासको प्रस्ताव पारित नभएकै कारण मुख्यमन्त्री संविधानको धारा १६८ को धारा २ अनुसार ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बनेको उनको भनाई थियो। उनले सरकारले कोभिड महामारीप्रति सरकार संवेदनशील भएको बताउँदै पूर्वाधार र जनताको ज्यान बचाउन धेरै काम गरिएको जिकिर गरे।
बाटो, खानेपानी, बाटो, पर्यटन, सामाजिक विकासको क्षेत्रमा आँखाले देख्न सकिने विकास भएको उनको जिकिर थियो। जनताका आंकाक्षा अनुरुप काम गर्न नसकेपनि साझा प्रयत्नले उपलब्धी हाँसिल भएको जिकिर गर्दै उनले राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु ओझेलमा परेको र सत्ता केन्द्रीत राजनीतिले जनताले छिटो सेवा पाउने काम रोकिएको स्वीकारे।
उनले गण्डकी अस्पतालमा अक्सिजनको अभावमा कोभिड संक्रमितले ज्यान गुमाएको भन्ने कुरामा सत्यता नभएको जिकिर गरे।
‘अक्सिजन थियो, छ, त्यहाँ अहिले गएर हेरौँ’,उनले भने,‘ प्रतिपक्षमा भएको सरकारमा जान पनि सकिन्छ, सरकारमा भएको प्रतिपक्षमा जानपनि सकिन्छ। जनता सडकमा आए भने घटना घट्न सक्छ, त्यसको जिम्मेवार कसले लिने? छानविन गर्दैछौँ, हैन भन्नेमा पुगेका छौँ, सत्य कुरा बाहिर नआइ किन माफीको माग गर्ने?’ भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहेका उनले आर्थिक वर्षको अन्त्यतिर रकमान्तर हुनु स्वभाविक रहेको बताए।
प्रतिक्रिया