काठमाडौं- कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ।
कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छ। काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको स्पष्ट पारे।
‘अब आउने २० गतेबाट निषेधाज्ञाको अवधि सकिँदैछ, तर कोरोना संक्रमण अझै कम नभएकाले २१ गतेदेखि अरू एक हप्ता थप्ने सोच बनाइएको छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘आज हामी तीन जिल्लाका सीडीओ बैठक बस्छौं र निर्णय गर्छाैं।’
साथै निषेधाज्ञा केही खुकुलो पार्ने सम्बन्धमा पनि विचार भइरहेको उनले बताए। ‘खाद्यान्न पसलचाहिँ खोल्न दिने कि भन्ने विषयमा पनि हामीबीच छलफल भइरहेको छ,’ उनले भने। के के खोल्न दिने भन्ने विषयमा बैठकपछि नै अन्तिम टुंगो लाग्ने उनले बताए।
उपत्यकामा गत वैशाख १६ गते सुरु निषेधाज्ञाको अवधि तेस्रोपटक थपेर यही जेठ २० गते मध्यरातिसम्म पुर्याइएको हो। अब २ दिन बाँकी छ।
प्रतिक्रिया