काठमाडौं- जनता समाजवादी पार्टी फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि कारबाही गरेपछि फुटेको हो ।
फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ । यादव समूहको कारबाहीमा परेकाहरुमा अध्यक्ष महन्थ ठाकुरसहित ४ नेताहरु छन् । निष्काशित गरिएकाहरुमा वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।
जसपाको ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको र सरकारका सहभागी हुन लागेपछि निष्काशन गरिएको बुझिएको छ । यसअघि यादव समूहले अध्यक्ष ठाकुरलाई निष्काशन गरेको थियो ।
उपेन्द्र यादवलाई पनि अध्यक्ष ठाकुरले स्पष्टिकरण सोधेका छन् । उनले पनि निष्काशनको निर्णय लिन लागेको बुझिएको छ ।
एक अर्कामाथि स्पष्टिकरण हुँदै निष्काशनको निर्णय सम्म पुगेपछि जसपा फुटेको हो । औपचारिक फुटपछि जसपा पुरानै अवस्थामा फर्कने निश्चित जस्तै भएको छ । ठाकुर समूहले राजपा र यादव समूहले जसपा नै चलाएर बढ्ने तयारी गरिसकेका छन् ।
निर्वाचन आयोगमा पत्र- जसपाको दर्ता किताबबाट महन्थको नाम हटाइयोस्
जसपाका पहिलो वरियताका अध्यक्ष ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष यादवले निर्वाचन आयोगमा पठाएपछि पार्टी विभाजनले औपचारिकता पाएको हो ।
यादवपक्षीय जसपाको कार्यकारिणी समिति बैठकले आजै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसबाट निष्कासनको घोषणा गरेको थियो ।
सो सम्बन्धी निर्णयको जानकारी तत्कालै यादवले निर्वाचन आयोगलाई गराई दलको दर्ता किताबबाट नाम हटाउन अनुरोध गरेका छन् । आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।
जसपा विवाद पनि अब तत्कालीन नेकपाको जस्तै निर्वाचन आयोगमा पुगेको छ । महन्थ ठाकुर पक्षले पनि उपेन्द्रमाथि निष्कासनको कारवाहीको निर्णय गर्न लागेको छ ।
प्रतिक्रिया