काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ थपिएकामा गृहमन्त्रीमा एमालेका खगराज अधिकारी सञ्चार मन्त्रीमा नैनकला थापा रहेका छन् ।
नैनकला थापा रामवहादुर थापा ‘बादल’की पत्नी हुन् । त्यस्तै कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ छन् ।
साह माओवादीबाट एमालेमा आएकी हुन् । उद्योग मन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विक रहेका छन् । यसअघि गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका एक उपप्रधानसहित १० मन्त्रीहरूसमेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।
प्रधानमन्त्री ओलीले यसअघि आफूसँग ७ मन्त्रालय राखेर जसपालाई दश मन्त्रालय लिएर मन्त्रिपरिषद विस्तार गर्दा नै एमालेबाट गृहमन्त्री बन्ने आकांक्षी नेताहरुको दौडधुप सुरु भएको थियो । सुरुदेखि नै गृहमन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी र कर्ण थापाको नाम चर्चामा थियो । अन्तिममा गृहमन्त्रीमा अधिकारीले बाजी मारे ।
बस्नेत, अधिकारी र थापा तीनै जना प्रधानमन्त्री ओलीनिकट नेता मानिन्छन् । तर, चर्चा भने यसपटक बस्नेतको धेरै भएको थियो । प्रधानमन्त्री ओली बस्नेतप्रति सकारात्मक थिए । तर, उनका टिममा रहेका नेताहरु भने महेशप्रति अनुदार देखिए ।
खासमा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले महेशलाई गृहमन्त्री बन्न नदिन ठूलो भूमिका खेलेका थिए ।
यो कुरा महेशले पनि आफूनिकट नेताहरुसँग गुनासो पोख्ने गरेका छन् । अर्को कुरा, अधिकारीलाई गृहमन्त्री बनाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत भूमिका खेलेको बुझिएको छ । उनले प्रधानमन्त्री ओलीलाई अधिकारीलाई नै गृहमन्त्री बनाउन सुझाएको स्रोतको दाबी छ ।
प्रतिक्रिया