+
Search

ताजा अपडेट +

पपुलर +

आज गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै पोखरेल, मन्त्रीमा क–कसको सम्भावना ?

4KNationalDaily
२०७८ जेष्ठ २९, शनिबार ०९:०९ बजे

काठमाडौं- गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सीमा आज दिउँसो ३ बजे सकिँदै छ।

मुख्यमन्त्री पदमा दाबी गर्दै विपक्षी गठबन्धनका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबारै बहुमत ३१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेका छन् भने त्यसको सनाखतसमेत भइसकेको छ।

तर प्रदेश प्रमुख सीता पौडेलले आज दिउँसो ३ बजेसम्म निर्णय दिने बताएकी छन्। कांग्रेस गण्डकी संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गर्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जनै प्रदेश सांसद प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए।

किनकि केन्द्रमा राष्ट्रपतिले शेरबहादुर देउवाको दाबीलाई खारेज गरेर संसद् विघटनगरेजस्तै होला कि भन्ने चिन्ता उनीहरूलाई थियो ।यसकारण विपक्षी गठबन्धन आज निर्णय नहुँदासम्म ढुक्क छैन।

मन्त्रीमा क–कसको सम्भावना ?

संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनका लागि आवश्यक आधार बुझाएकाले शनिबार दिउँसो तीन बजे पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नेमा गठबन्धन विश्वस्त छ । योसँग गठबन्धन मन्त्रालय भागबण्डाको तयारीमा जुटेको छ । मुख्यमन्त्रीको सपथसँग तीन दल, (काँग्रेस, माओवादी र जसपा)बाट एक/एक समेटेर मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।

पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गरेपनि राजमोले भने सरकारमा सहभागी नहुने नीति लिएको छ । विशेष गरी मन्त्रालयको भागबण्डाका विषयमा काँग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । मन्त्रीका आकांक्षी पनि काँग्रेस र माओवादीमै धेरै छन् । जसपालाई एउटा मन्त्रालय दिइने भएकाले खासै समस्या छैन ।

पोखरेल रामचन्द्र पौडेल निकट रहेकाले काँग्रेसको केन्द्रीय सन्तुलन अनुसार मन्त्री छनोट गरिने काँग्रेसका एक सांसदले सुनाए । पोखरेलले पनि पार्टीको सबै पक्ष मिलाएर अगाडि मन्त्री छनोट गर्ने सोचमा रहेको उनको भनाइ छ ।

नवलपरासी निर्वाचन क्षेत्र भएका काँग्रेस महामन्त्री शशांक कोइरालासँग पनि राम्रो सम्बन्ध भएका ७१ वर्षीय पोखरेल काँग्रेसमा ‘सर्वमान्य’ नेताका रुपमा परिचित छन् । त्यसैले पोखरेलाई प्रेदश संसदीय दलको नेतादेखि मुख्यमन्त्री बनाउने विषयमा पनि पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै नाइनास्ती गरेका छैनन् ।

तर काँग्रेसले पाउने अधिकांश मन्त्रीमा आफू निकटलाई पठाउने देउवा पक्षको तयारी छ । स्राेतका अनुसार काँग्रेसबाट मन्त्री बन्नेमा कुमार खड्का, मेखलाल श्रेष्ठ, विन्दु थापा, प्रकाशचन्द्र दवाडी, ललितकला गुरुङ, डोबाटे विश्वकर्माको नाम चर्चामा छ ।

यसमा पनि सबैभन्दा बलियो सम्भावना खड्का र थापाको रहेको बताइएको छ । उनीहरु दुबै जना काँग्रेस सभापति देउवानिकट मान्छिन् । तत्कालीन अखण्ड पार्टीबाट खड्का संघीय सरकार कै महिला तथा बालबालिका मन्त्री नै बनेका थिए ।

खड्काले संसदीय दलको नेतामा दाबी गरेपनि पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन देउवा अन्तिमा ब्याक भएपछि पौडेल पक्षीय पोखरेल दलको नेता बनेका थिए ।

०७४ को आम चुनावअघि अखण्ड पार्टी काँग्रेसमा समाहित गराएका खड्का गण्डकीमा नयाँ सरकार बनाउन काँग्रेसद्वारा गठित वार्ता टोलीका संयोजक समेत हुन् । यस्तै माओवादी केन्द्रबाट रामजी बराल, दीपक कोइराला र गायत्री गुरुङको नाम चर्चामा छ ।

गण्डकी प्रदेश माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान पनि राम्रो मन्त्रालय पाए सरकारमा जाने मुडमा रहेको बुझिएको छ । तत्कालीन नेकपाको एकल सरकार रहेका उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।

नाम विवादमा फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि चैत २५ गते मात्र चुमानसहित भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका थिए । यता जसपाबाट हरिशरण आचार्य सरकारमा जाने पक्का छ । बजेट ल्याउनुपर्ने समयको चाप भएकाले पनि पोखरेलले मन्त्री नियुक्त गर्ने ढिला गर्ने छुट पाउने अवस्था छैन

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily