+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीलाई झलनाथ खनालले भने- जसरी हुन्छ पार्टी मिलाउनुस्

4KNationalDaily
२०७८ असार २, बुधबार १६:२६ बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। उनलाई नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली लगिएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि खनाल सोमबार थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए। अस्पतालले उनलाई ‘पोष्ट कोभिड’ समस्या भएको आशंकामा उपचार सुरु गरेको थियो। तर उनमा पोष्ट कोभिड भन्दा भिन्न समस्याहरु देखिएपछि थप उपचारका लागि अस्पतालले दिल्ली लैजान सुझाव दिएको थियो।

दिल्ली जानु अघि उनलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भेटका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका थिए। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीले एउटै फोनबाट खनालको स्वास्थ्य लाभको कमना गरेका थिए।

प्रधानमन्त्री ओलीसँग कुराकानी हुँदा नर्भिक अस्पतालमा खनालसँगै रहेका सहयोगी होम बुढाथोकीले भने, ‘झलनाथ कमरेडले प्रधानमन्त्रीलाई पार्टी मिलाउनुहोस् भन्नुभयो ।’ नेता खनालले अध्यक्ष ओली पार्टीको प्रमुख ठाउँमा भएकाले मिलाउने भूमिका बढी हुने बताएका थिए । ओलीसँग कुराकानीका क्रममा खनाल भावुक बनेको बुढाथोकी बताउँछन् ।

अस्पताल स्रोतका अनुसार खनालको मृगौलामा समस्या देखिएको थियो। उनको फोक्सोमा पनी जमेको पनि जनाइएको छ।
खनालको रगत र पिसावमा समेत इन्फेक्सन देखिएको छ।

२०७१ सालमा खनालको जोन हिकिन्ङस अस्पताल अमेरिकामा मुत्रनलीमा पलाएको मासुको शल्यक्रिया गरिएको थियो। खनाललाई वैशाख १८ गते कोरोना पोजेटिभ देखिएको थियो। उनी वैशाख २७ गते कोरोना मुक्त भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily