+
Search

ताजा अपडेट +

पपुलर +

ओलीको सारथी बन्न नपाएका महन्थ सामु अब दुई विकल्प मात्रै बाँकी

4KNationalDaily
२०७८ असार ९, बुधबार ०९:४४ बजे

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित मंगलबार गृहजिल्ला रौतहट आइपुगे।

उनलाई कालो झन्डा देखाउँदा माधवनारायण नगरपालिका–३ सखुवाका ललन यादव, गरुडा–५ का विजय यादव र दीपेन्द्र यादव पक्राउ परे। उनीहरू प्रहरी नियन्त्रणमै रहँदा सर्वोच्च अदालतको अन्तरिम आदेशबाट झासहित २० जना मन्त्री पद्मुक्त भए।

कामचलाउमा परिणत भएको ओली सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानविपरीत भएको भन्दै परेका सात रिटमाथि सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिँदा उपप्रधान एवं सहरी विकास मन्त्रीको पद गुमाउने राजेन्द्र महतो सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रको हवाई अवलोकनमा व्यस्त थिए।

सर्वोच्चको अन्तरिम आदेशबाट मन्त्रीपद गुमाउनेमा प्रदेश २ कै बढी छन्। कारण ओली सरकारलाई सुरक्षित बहुमतका लागि जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष टेको बनेका थिए। पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुर, महतोसहितका पदाधिकारीलाई निष्कासन गरेको जनाएका छन्।

ठाकुरले जसपाको आधिकारिकता आफूलाई दिनुपर्ने भन्दै निर्वाचन आयोग गुहारेका छन्। आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न पत्राचार गरेको छ। जसपाका अर्का अध्यक्ष यादव पक्षले शुक्रबार आधिकारिकता माग गर्दै निवेदन दिएपछि आयोगले त्यसको प्रतिलिपि संलग्न गरी ठाकुर पक्षलाई १५ दिने सूचना दिएको हो।

जसपाको विधानअनुसार उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा कार्यकारिणी सदस्यको भौतिक उपस्थिति गराएरै बहुमत साबित गरिसकेको एक पदाधिकारीले बताएकाे खबर आजको नागरिक दैनिकमा सिरहाबाट मिथिलेश यादवले लेखेका छन्।

निष्कासनमा परेको ठाकुर पक्षले निर्वाचन आयोगमा आधिकारिकता पुष्टि गर्न नसक्ने पक्का रहेको मधेसका राजनीतिज्ञ बताउँछन्। ‘पार्टीलाई चिरा पारेर सरकारमा पुगेकाहरू पदमुक्त भएपछि कहींको रहेनन्’, राजनीतिज्ञ खुशीलाल मण्डलले भने, ‘न मधेस मुद्दाको पक्षमा उभिन सके न सरकारमै टिक्न सके।’

रेशम चौधरीको रिहाइ र मधेसका आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ताको सिँढी चढेर सरकारमा पुगेकाले तिनै माग पनि पूरा गराउन नसकेको उनले बताए। ‘संविधान संशोधनमार्फत पूरा हुने मधेसको माग त उनीहरूको प्राथमिकतामै थिएन’, उनले भने।यस घटनाले राजेन्द्र महतोसहित महन्थ पक्षधर नेताको लक्ष्य केवल सरकारमा सहभागी हुनु रहेको उनले बताए। ‘फेस सेभिङका लागि मुद्दा फिर्ताका कुरा, नागरिकताका कुरा उठाएका हुन्। मुख्य उद्देश्य त सत्ता र सरकार नै रहेछ भने पुष्टि भयो’, मण्डलले टिप्पणी गरे।

सद्भावना पार्टीको आधिकारिकताका लागि लामो समय निर्वाचन आयोग धाएको अनुभूति साझा गर्दै मण्डलले भने, ‘हेर्नुस्, जसपाको अधिकारिकता उपेन्द्र यादवले नै पाउँछन्। बहुमत कार्यकारिणी उनकै पक्षमा छन्। अब महन्थजीका सामुन्ने दुइटा विकल्प छन्। उपेन्द्र यादवको नेतृत्व स्वीकार गरेर जसपामै बस्ने अथवा अर्को पार्टी खोल्ने।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily