+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा तरकारीको मूल्य २३० प्रतिशतसम्म वृद्धि, कुन तरकारीको मूल्य कति पुग्यो?

4KNationalDaily
२०७८ असार १७, बिहीबार ०९:५० बजे

काठमाडौं– एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ।

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको खबर आजको आर्थिक अभियान दैनिकले छापेको छ।

वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको हो।

जेठ १६ गते प्रतिकिलो ३५ रुपैयाँ थोक मूल्य रहेको हाइब्रिड घिउ सिमीको मूल्य असार १६ मा २ सय ३० प्रतिशतले वृद्धि हुँदै १ सय १५ रुपैयाँ कायम भएको छ। स्थानीय काउलीको मूल्यमा २ सय प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ । तितेकरेलाको मूल्य १ सय ४२ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो २७ रुपैयाँबाट ६५ रुपैयाँ पुगेको छ।

त्यसैगरी भिन्डीको मूल्य पनि १ सय १५ प्रतिशतले वृद्धि हुँँदै प्रतिकिलो ३५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ भने राजमाको मूल्य पनि २ सय प्रतिशतले बढेर प्रतिकिलो ३५ रुपैयाँबाट १ सय ५ रुपैयाँ पुगेको छ । घिरौला, लौका, बोडीलगायतका तरकारीको समेत प्रतिकिलो २० रुपैयाँदेखि ३५ रुपैयाँसम्म मूल्य बढेको छ।

अहिले वर्षाद्को समय भएकाले तरकारीको उत्पादन कम भएको छ । तरकारी उत्पादन भइरहेको जमीनमा धान रोप्ने काम भइरहेकाले पनि हरियो तरकारीको उत्पादन घटी मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय बताए।

‘खासगरी अहिले तरकारीको उत्पादन कम भएकाले नै मूल्य बढेको हो,’ उनले भने । उनका अनुसार यतिबेला भारतमा पनि वर्षाद्का कारण तरकारी उत्पादन घटेको छ । भारतबाट नेपालमा कम तरकारी भित्रिँदा पनि मूल्य बढेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily