+
Search

ताजा अपडेट +

पपुलर +

गुम्दाका २ जना अवैध वन लसुनसहित मनाङबाट पक्राउ

4KNationalDaily
२०७८ असार १८, शुक्रबार २०:०५ बजे

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिकाका २ जना प्रतिबन्धित वन लसुन सहित मनाङबाट पक्राउ परेका छन । प्रहरीले उनीहरुलाई ६ लाख रुपैयाँ बराबरको प्रतिबन्धित वन लसुनसहित पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार धार्चे गाउँपालिका ५, गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका ३, खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे गाउँपालिका ७, लापु घर भइ हाल खितीपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।

अवैध रुपमा संकलन गरी भण्डारण गर्न लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले करिब ३० केजीबराबरको वनलसुनसहित २ जनालाई पक्राउ गर्न सफल भएको डीएसपी खड्काले बताए । उनीहरुले नार्पाभूमिको नारका स्थानीयबाट प्रतिकिलो ४ हजार रुपैयाँका दरले किनेर ल्याएको बताएका प्रहरीले बताएको छ ।

वन लसुनलाई राम्ररी सुकाएर बिक्री गर्दा प्रतिकिलो १८ हजारदेखि २० हजार रुपैयाँमा सम्म बिक्री गर्न सकिने पक्राउ परेको व्यक्तिहरुको भनाइ रहेको डीएसपी खड्काले बताए । पक्राउ परेका २ जनासहित बरामद गरिएको वनलसुनलाई थप अनुसन्धान र कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई बुझाएको छ ।

‘विकट क्षेत्र भएकाले प्रहरीको पहुँच कमैमात्रामा पुग्दा यस्ता घटनाहरु भएको देखिन्छ । यस्ताखाले गतिविधिलाई हामीले नियालिरहेका छौं । पक्राउ परेका व्यक्तिबाट हामीलाई यस्ताखाले अवैध कार्यमा खटिएका अन्यलाई पनि पक्राउ गर्न सक्छौं,’ डीएसपी खड्काले भने । उनका अनुसार पक्राउ परेकामध्ये माइला गुरुङले २ वर्षदेखि वनलसुन बेचबिखनमा संलग्न रहेको बताएका छन् ।

शुक्रबार बरामद गरिएको वनलसुन मनाङको नासों गाउापालिका ५, थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने मनाङको तिल्चे, भीमथाङ हुँदै लार्के पास गरेर गोरखाका छिरिङ बुन्जो लामा नामक व्यापारीलाई बिक्री गर्ने तयारी गरेको खुल्न आएको डीएसपी खड्काले बताए ।

उच्च पहाडी क्षेत्रको २ हजार ५ सय देखि ५ हजार उचाइसम्म पाइने वनलसुन यार्सागुम्बा संकलन सकिएपछि जेठ असारमा संकलन गरिन्छ । मनाङको हरेक लेकमा पाइने वनलसुन लार्के पास भएर गोरखातर्फमात्रै नभएर लुकिछिपी बेंसीसहरबाट समेत ल्याउने गरिएको प्रहरी अधिकारीहरु बताउँछन् । वनलसुन घाउ चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा दिने गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily