काठमाडौँ- बिहीबार कार्यदलका सदस्यहरुबीच एमाले एकतावद्ध राख्नेगरी बीचको बाटो खोज्ने सहमति भयो। प्रतिनिधिसभा बिघटनका बिरुद्ध परेको रिटका सन्दर्भमा सर्वोच्चबाट आउने फैसलाभन्दा अघिका विषय बिर्सेर त्यसपछि आउने परिस्थितिको मिलेर सामना गर्ने सहमति कार्यदलका सदस्यहरुले गरेका थिए।
कार्यदलले तयार पारेको तीन बुँदे समझदारीको एउटा बुँदामा लेखिएको थियो,‘अदालतको निर्णय पश्चातको परिस्थिति मिलेर सामाना गर्ने।’ यसो गर्दा देउवालाई प्रधानमन्त्री बनाउन २३ सांसदले गरेको हस्ताक्षर फिर्ता हुनुपर्छ भन्ने ओली पक्ष र प्रतिनिधिसभा बिघटनको निर्णय नै फिर्ता गर्नुपर्छ भन्ने नेपाल पक्षबीच भएको समझदारीको बटमलाइन बन्ने उनीहरुको बुझाई थियो।
कार्यदलका सदस्यहरुका बीचमा एमालेका पुराना २ सय ३ र पछि थपिएका केन्द्रीय सदस्यहरुलाई पनि कुनै बिधिमार्फत् निरन्तरता दिने थप समझारी बनेको थियो। त्यसपछि उनीहरु १८ शुक्रबारका लागि डाकिएको केन्द्रीय कमिटी बैठक रोक्ने, ओली र नेपालका बीचमा फोनवार्ता गराउने त्यही वार्तामा भेटको समय निर्धारण गर्नेगरि छुट्टिए।
ओली समूहका विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल लगायतका नेता सहमतिको ड्राफ्ट लिएर बालुवाटार गए भने नेपाल समूहका घनश्याम भूसाल, गोकर्ण बिष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे कोटेश्वर पुगे।
‘त्यसपछि हामीले प्रधानमन्त्रीज्यूको फोन आउँछ, तपाईंले मिल्नेगरि कुरा गर्नुहोला भनेर निस्कियौं,’ नेपाल समूहका ती सदस्यले भने, ‘उहाँले फोन त उठाउनु भएछ तर कुरा गर्न मन थिएन साथीहरुले गर्नु भनेकाले मात्रै गरेको हुँ भन्नुभए छ।’ प्रधानमन्त्री ओलीले बिहीबारको केन्द्रीय कमिटी बैठकमा गरेको बिफ्रिङअनुसार २५ मिनेट फोनसंवाद हुँदा ओलीले नेपाललाई भेटौं भनेर चारपटक अनुरोध गरेका थिए। तर नेपाल मानेनन।
त्यसैले थप छलफल गर्न फेरि बैठक बस्दैछौं। ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठक २ बजे सुरु हुनुअघि दिउँसो १ बजे कार्यदलका सदस्यहरुका बीचमा छलफल हुँदैछ।
प्रतिक्रिया