पोखरा- गण्डकी प्रदेशमा सञ्चालित घरवास सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहयोग एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको संयोजनमा होमस्टे मोबाइल एप सेवा सञ्चालनमा ल्याइएको छ ।
भिटोफ गण्डकी प्रदेशको आयोजनामा जुम प्रविधिमार्फत आयोजित एक कार्यक्रमकाबीच सो सेवा सञ्चालन शुभारम्भ गरिएको हो । सो सेवाको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले गाउँ पर्यटनको प्रवर्द्धन र विकासका लागि प्रविधिको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश भित्रका घरवासीलाई अनलाइन प्रविधिमार्फत बुकिङ गर्न मिल्ने, पैसा तिर्न मिल्ने सुविधा एवं सबै घरवासीबारे बुझ्न मिल्ने गरी बहुआयमिक नामक होमस्टे मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिए ।
पहिलो चरणमा यो भिटोफ गण्डकी प्रदेशबाट सञ्चालन हुने र सम्बन्धित होमस्टेहरू सक्षम भएपछि उनीहरूले नै सञ्चालन गर्न सक्ने उनले बताए । उनका अनुसार हाल ५० वटा होमस्टे बुकिङ गर्न मिल्ने छ भने अन्य २५४ होमस्टेका विवरण त्यहीबाट जानकारी लिन सकिने छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नवीनतम प्रविधिको प्रयोगमार्फत पर्यटन सेवालाई सहज र सरल बनाउँदै लैजान यो बहु उपयोगी बन्ने सक्ने विश्वास राखेका थिए ।
प्रतिक्रिया