गाेरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार बजेटमाथिको छलफलअघि नै विना विभागीय मन्त्रीहरुलाई एक महिनापछि जिम्मेवारी दिने भएका छन् ।
सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले आइतबार पहिले अस्वीकार गरेको मन्त्रालयकै जिम्मेवारी सम्हाल्ने भएका छन् । आचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ र मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
मुख्यमन्त्री पोखरेलले सुरुमै यही मन्त्रालय तोके पनि उनीहरुले अस्वीकार गरेका थिए । अर्थ मन्त्रालय दाबी गरिरहेका आचार्यले भनेको मन्त्रालय नपाएको बताए पनि भित्री रुपमा जसपाका दुबै सांसदलाई मन्त्री बनाउनुपर्ने माग गरिरहेका थिए भने मनाङेले भौतिक पूर्वाधार मन्त्रालय चाहिने भन्दै अस्वीकार गरेका थिए ।
जेठ २९ मा मुख्यमन्त्रीसँगै शपथ लिएका कांग्रेसका कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारीले मन्त्रालयको जिम्मेवारी केही दिनअघि पाएका थिए। खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका छन्।
१२ सदस्यीय मन्त्रीमण्डल बनाउदैं
६० सदस्यीय गण्डकी प्रदेश सभामा १२ सदस्यीय मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ । यसअघि ७ सदस्यीय मन्त्रीमण्डल रहेकोमा सरकार संकटमा परेपछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाउँदै ७ सदस्यीय बनाएका थिए । मुख्यमन्त्री गुरुङले फेरि मन्त्रालयको संख्या ११ पुर्याएका थिए ।
मुख्यमन्त्री गुरुङले नै ११ पुर्याइदिएपछि कृष्णचन्द्र नेतृत्वको गठबन्धनको सरकारलाई सहज भएको छ । अहिले गठबन्धनले मुख्यमन्त्रीसहित कांग्रेस ४, माओवादी ४, जनता समाजवादी २ र एक स्वतन्त्र सांसद गरी ११ मन्त्रालयको बाँडफाँड गर्ने सहमति गरेका छन् । पार्टीभित्र मन्त्रीका आकांक्षी बढेकाले मन्त्रालय संख्या १२ नै पुर्याउनेबारे पनि छलफल भइरहेको छ ।
प्रतिक्रिया