काठमाडौँ- संघीय संसद्का दुवै सदनको अधिवेशन आजबाट सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।
सर्वोच्च अदालतको संवंधानिक इजलासले असार २७ गते प्रतिनिधिसभा विघटनविरुद्द परेको रिटमा निवेदककै पक्षमा फैसला सुनाउँदै एक साताभित्र संसद बैठक बोलाउन परमादेश जारी गरेको थियो । यही संसदबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।
सभामुख अग्नि सापकोटाले आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने, सदस्यहरुको सभामुखले मनोनयन गर्नेलगायत सम्भावित कार्यसूची छ ।
संसद बैठक सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । तयारी स्वरुप पछिल्लोपटक संघीय सांसदसहित ८०१ जनामा कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये तीन कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया